घरघरमै अपाङ्गता परिचयपत्र र औषधि

६ बर्ष अगाडि

अपाङ्गता परिचयपत्रबाट वञ्चित बरेङ गाउँपालिकाका ८६ अपाङ्गता भएका व्यक्तिलाई गाउँपालिकाले घरदैलोमै पुगेर परिचयपत्र उपलब्ध गराएको छ । शारीरिक रुपमा अशक्त र सोबारे जानकारी नपाएकालाई घरमै पुगेर परिचयपत्र वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले अपाङ्गता भएका व्यक्तिको अवस्थालाई दृष्टिगत गर्दै घरदैलो अभियान चलाइएको जनाउँदै परिचयपत्र प्राप्त गरेका सबै अपाङ्गता भएका व्यक्तिले नेपाल सरकारले तोकेको र गाउँपालिकाले तोकेको सुविधा उपभोग गर्न पाउने शर्मा बताए । अब उनीहरुको स्वास्थ्य र सामाजिक सुरक्षाको सबै सुविधा उपभोग गर्ने बाटो खुलेको छ,शर्माले भन्ने,परिचयपत्रको अभावमा सुविधाबाट वञ्चित हुन नदिन अभियान चलाइएको हो ।

परिचयपत्रसँगै अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधिसमेत घरदैलोमै वितरण गरिएको छ । गाउँपालिकाले अपाङ्गता भएकामध्ये दुईलाई रातो परिचयपत्र,२६ लाई नीलो परिचयपत्र,४८ लाई पहेँलो परिचयपत्र र १० जनालाई सेतो परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाले परियचपत्र र स्वास्थ्य उपचारका लागि चालू आर्थिक वर्षमा  पाँच करोड विनियोजन गरेको छ ।

गाउँपालिकाका पाँच वडामा तीन दिन लगाएर परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । सामाजिक सुरक्षा हाम्रो दायित्व हो,थापाले भन्ने,पालिकाको केन्द्रसम्म आउन पनि कठिन हुनेले हामी घरदैलोमा पुग्दा उनीहरु खुशी भएका छन् । प्रशासन र स्वास्थ्य शाखाका कर्मचारीको समूह बनाएर गाउँपालिका घरघरमा पुगेको थियो । यसअघि सूचीकृत भएका केहीले सुविधाको उपभोग गर्दै आएका छन् ।     
  
 

६ बर्ष अगाडि

प्रतिक्रिया