कालीगण्डकीको झोलुङ्गे पुल  जीर्ण अवस्थामा

६ बर्ष अगाडि

रामपुर चापाकोट जोड्ने कालीगण्डकीको सोहरा प्याक्लुक झोलुङ्गे पुल जीर्ण बनेको छ । पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–८ मा रहेको यो पुल जीर्ण बन्दै गएपछि यात्रुले जोखिम सहेरै नदी वारपार गर्नुपरेको छ ।

विशेषगरी मोटरसाइकल तथा स्कुटरमा यात्रा गर्नेका लागि यो पुल बढी जोखिममा छ । विसं २०४७ मा निर्माण भएको यस पुलले कालीगण्डकी वारिपारिका पाल्पा र स्याङ्जाका स्थानीयलाई आवतजावतमा सुविधा पुगेको थियो । तत्कालीन समयमा यहाँ पुल निर्माण नहुँदा धेरै समय खर्चिएर वारपार गर्न कालीगण्डकीको केलादीघाट र आधिघाँटको पुल तर्नुपर्ने बाध्यता थियो ।

यहाँ पुल बनेपछि पाल्पा र स्याङ्जा लगायतका विभिन्न स्थानमा आवतजावत गर्न सजिलो परेको छ । तर पुल मर्मत सम्भारमा ध्यान नदिँदा अहिले यो पुल जीर्ण बनेको छ । पुलका सबैजसो संरचनाहरु जीर्ण अवस्थामा छ ।

कालीगण्डकी वारिपारिका विभिन्न स्थानमा लाग्ने मेला, महोत्सव, सभा समारोह, विभिन्न चाडपर्वका अवसरमा प्रहरीको निगरानीमा यात्रुलाई वारपार गराउँदै आइरहेको छ । हाल दैनिक ४०० जतिले यही पुल भएर वारपार गर्ने गर्छन् ।

रामपुर नगरपालिकाभित्र पर्ने कालीगण्डकीका विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण भएपनि धेरै यात्रुले आवतजावत गर्ने यही पुल हो । यो पुल रामपुर र चापाकोट जोड्ने मुख्य नाकाका रुपमा रहेको छ । पुलको लठ्ठा, पिल्लर, बारहरु जीर्ण बन्दै जादा यसले मुख्य भाग नै छाडिसकेको हुँदा कतिबेला के हुने हो वारपार गर्नै जोखिम बढेको रामपुरका सागरप्रसाद देवकोटा बताउँछन् ।

यहाँ पुल नहुँदा पाँच मिनेट लाग्ने ठाउँमा पुग्न एक दिनको समय बिताएर आँधिघाट तथा केलादीघाटको पुलबाट यात्रा गर्नुपथ्र्यो, पुल बनेपछि नदी वारिपारिका स्थानीयको एकाएक दैनिकी नै बदलियो, देवकोटाले भन्ने । पुल बन्यो तर मर्मत सम्भारमा चासो कसैले नदिँदा अहिले कतिबेला भत्कन्छ भन्ने यात्रु तथा स्थानीयले चिन्ता गरिरहेका छन् ।

यही पुलका कारण कालीगण्डकी वारिपारि बस्ने स्थानीयको सम्बन्ध बढायो । वारिपारि व्यापार व्यवसाय गर्न,विभिन्न रोजगारीमा आउन जान,यात्रा गर्न यो पुल मेरुदण्ड बनेको चापाकोटका स्थानीय सागर अर्याल बताउँछन् ।

यो पुलबाट यात्रा नगरिकन जीविका चलाउन समस्या छ,ज्यानको बाजी नै राखेर जीर्ण पुलबाट यात्रा गर्नुपरेको छ,कतिबेला दुर्घटना हुने हो,सम्बन्धित निकायले यसतर्फ चासो दिनुपर्यो,उनले भन्ने । अहिले कालीगण्डकीका अन्य स्थानमा पुल निर्माण भए पनि धेरै यात्रुले प्रयोग गर्ने यही पुल हो ।

पुलले रामपुर चापाकोटको विकासमा ठूलो भूमिका खेलेको छ । प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने मुख्य नाकाका रुपमा रहेको यो पुल जीर्ण बन्दै गएपछि रामपुर नगरपालिकाले मर्मत तथा सम्भारको कामलाई गम्भीरतापूर्वक लिएको वडा नं ६ का अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपाने बताए।

पुलका धेरै संरचनाहरु जीर्ण बनेकाले मर्मत सम्भारभन्दा नयाँ पुल नै बनाउन नगरपालिकाले जोड दिइरहेको छ,पुल निर्माण गर्ने प्रक्रियाले रामपुर नगरपालिका आफैँले एक्लो निर्णय गरेर मात्र भएन, उनले भन्ने ।  रामपुर नगरपालिका वडा नं १ मा स्याउली बजारस्थित पुट्टारघाट,काशिवन,टापुधाम,वडा नं २ को भलायटारस्थित रानीघाट,वडा नं ३ मा केलादीघाट,वडा नं ४ मा कोप्चेघाटमा झोलुङ्गे पुल निर्माण भई हाल सञ्चालनमा छन् । त्यस्तै वडा नं ६ मा प्याक्लुकघाटको सोहरा प्याक्लुक झोलुङ्गे पुल,मिलनघाट,गौरीघाट,वडा नं ८ को खोरियाघाट,निर्दिमघाट,निसर्दीघाटमा झोलुङ्गे पुल बनेका छन् ।

वडा नं १० को होस्दी,बर्दले,आँधिघाट,मलौटेघाटमा झोलुङ्गे पुल निर्माण भएपछि कालीगण्डकी वारिपारि यात्रा गर्न सहज भएको छ । यसैगरी रामपुर नगरपालिका–६ र चापाकोट नगरपालिका–७ जोड्ने गौरीघाट र रामपुर ३ र चापाकोट ६ जोड्ने केलादीघाटमा पक्की पुल निर्माण भई सञ्चालनमा छन् । कालीगण्डकीको भुजात निर्दिमघाट,प्याक्लुकघाट, बर्दले आँधिघाटमा भने पक्की पुल निर्माणाधिन अवस्थामा छ ।     
   
 

६ बर्ष अगाडि

प्रतिक्रिया