काठमाडौं – बीमा कम्पनीहरूले बैंक तथा वित्तिय संस्थाको निक्षेपमा रू. २ खर्ब ४० अर्ब ५३ करोड रकम जम्मा गरेको छन् ।
नेपालमा सञ्चालित २० निर्जीवन बीमा, १० जीवन बीमा र एक पुनर्बीमा कम्पनीले असोज मसान्तसम्म सो बराबरको रकम निक्षेपमा राखेका हुन् ।
नेपाल राष्ट्र बैंकले तयार गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । हाल बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा रू. २ खर्ब ९६ अर्ब ३० करोड लगानी गरेका छन्, जसअनुसार बीमा कम्पनीहरुको अधिकांश लगानी बैंकको निक्षेपमा नै रहेको देखिन्छ ।
गत आवको समिक्षा अवधीसम्म बीमा कम्पनीहरुले बैंकहरुमा रू. १ खर्ब ९२ अर्ब ७५ करोड निक्षेप राखेका थिए । तथ्यांकअनुसार बंैकहरूमा गैर–बैंकिङ वित्तिय संस्थाहरूबाट रू. ५ खर्ब ८१ अर्ब ४१ करोड निक्षेप संकलन भएको छ । गत आवको समिक्षा अवधीसम्ममा गैर बैंकिङ वित्तिय संस्थाहरुबाट रू. ४ खर्ब २० अर्ब ६० करोड निक्षेप संकलन भएको थियो । बीमा कम्पनी, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई गैर बैंकिङ वित्तिय संस्थाको रूपमा लिइन्छ ।
कर्मचारी सञ्चय कोषले यस अवधीसम्म बैंकहरूमा रू. ९५ अर्ब २९ करोड निक्षेप राखेको छ । नागरिक लगानी कोषले भने रू. ७२ अर्ब ३० करोड रकम निक्षेपमा राखेको छ । यस्तै, अन्य गैर बैंकिङ क्षेत्रबाट भने रू. १ खर्ब ७३ अर्ब २९ करोड निक्षेप संकलन भएको छ ।
प्रतिक्रिया