काठमाडौं – जीवन बीमा कम्पनीहरूले चालु आर्थिक बर्षको पहिलो तीन महीना रू. १ अर्ब ६ करोड ४८ लाख खुद नाफा कमाएका छन् । यो नाफा गत आवको समिक्षा अवधीको भन्दा २७.५९ प्रतिशतले बढी हो ।
गत आवको समिक्षा अवधीमा बीमा कम्पनीहरूले ८३ करोड ४५ लाख नाफा कमाएका थिए । हाल नेपालमा १९ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनी गत आवको सो अवधीमा सञ्चालनमा आइसकेको थिएन ।
बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । तथ्यांकअनुसार चार जीवन बीमा कम्पनीले रू. १० करोड भन्दा बढी नाफा कमाएका छन् । नेपाल लाइफ, नेशनल लाइफ, युनियन लाइफ र प्राइम लाइफले १० करोड भन्दा बढी नाफा कमाएका छन् ।
सबैभन्दा ठुलो बीमा कम्पनीको रूपमा परिचित नेपाल लाइफले यस अवधीमा रू. २० करोड ४४ लाख नाफा कमाएको छ । नेपाल लाइफले लामो समयदेखि बीमा क्षेत्रमा एकक्षत्र रूपमा नै राज गर्दै आएको छ । चुक्तापुँजी, बीमाशुल्क, जगेडा कोष, जीवन बीमा कोष लगायतका हरेक परिसुचकमा यो कम्पनी अगाडि छ ।
अहिले बीमा बजारमा प्रतिस्पर्धा र कम्पनीको संख्या बढ्दा पनि नेपाल लाइफसँग प्रतिस्पर्धा गर्न सक्ने कम्पनी अझै देखिएका छैनन् । अन्य कम्पनीहरूको २ अर्ब रपैयाँ बराबरको चुक्तापुँजी छ । तर, नेपाल लाइफको रू. ५ अर्ब भन्दा बढीको मात्रामा चुक्तापुँजी रहेको छ ।
यस्तै, नाफा कमाउने बिषयमा दोस्रो नम्बरमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधीमा रू. ११ करोड ५३ लाख नाफा कमाएको छ ।
यस्तै दुई बर्ष अघि मात्र सञ्चालनमा आएको युनियन लाइफले पनि यस अवधीमा राम्रो मुनाफा कमाएको छ । उक्त कम्पनीले नाफा कमाउने बिषयमा ९ ओटा नयाँ कम्पनी र सात ओटा पुराना कम्पनीलाई पछाडी पारेको छ । युनियनले बीमाशुल्क, नाफा सहित परिसुचकमा पनि अरु कम्पनीलाई पछाडी पारेको छ । यस्तै, चौथो नम्बरमा प्राइम लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले रू. १० करोड भन्दा बढी नाफा कमाएको छ ।
यस्तै, यस पटक नाफा कमाउने बिषयमा सुर्या लाइफ इन्स्यारेन्स पाँच नम्बरमा आउन सफल भएको छ । दुई÷तीन बर्षअघिसम्म राम्रोसँग व्यवसायीक गतिविध अगाडि बढाउन नसकेको यस कम्पनीको पछिल्ला वित्तिय परिसुचक भने राम्रो बन्दै गएका छन् । यस अवधीमा उक्त कम्पनीले रू. ७ करोड ८७ लाख नाफा कमाएको छ ।
तर, यस अवधीमा नाम चलेका केही बीमा कम्पनीको नाफा भने घटेको छ । एलआईसी नेपालको नाफा ५१.५४ प्रतिशतले घटेको छ । गत आवमा उक्त कम्पनीले रू. ४ करोड ८८ लाख मुनाफा कमाएको थियो, तर अहिले त्यो रू. २ करोड ३६ लाखमा खुम्चिएको छ । यस्तै, सानिमा लाइफ र आईएमई लाइफको नाफा पनि घटेको छ ।
पछिल्लो समय बीमा कम्पनीहरूमा लगानीयोग्य पुँजीको मात्रा बढ्दै गएको छ । जसको फलस्वरुप कम्पनीहरुको लगानी विस्तार हुँदै गएको छ र त्यसबाट हुने आम्दानी पनि बढेको छ । यसरी लगानीबाट हुने आम्दानी बढेपछि कम्पनीहरुको नाफा पनि बढ्दै गएको हो ।
जीवन बीमा कम्पनीको नाफाको बृद्धिदर बाणिज्य बैंकको भन्दा पनि राम्रो देखिएको । समिक्षा अवधीमा बाणिज्य बैंकहरूको नाफा ६.२५ प्रतिशतले बढेको थियो । तर, बीमा कम्पनीहरुको नाफा भने २७.५९ प्रतिशतले बढेको छ । यद्यपि, रकमका आधारमा भने बैंकको नै बढी नाफा छ । चुक्तापुँजी, लगानीयोग्य पुँजी, व्यवसायको दायरा बढी भएको हुनाले बैंकको नाफा बढी हुनु स्वभाविक पनि हो ।
प्रतिक्रिया