कानून पढेर न्यायका पक्षमा लाग्दै मुक्त कम्लहरी

६ बर्ष अगाडि

कुनै समय घोराही बजारको एक घरमा भाडा माझ्ने काम गर्ने पूर्वकम्लहरी विष्णु चौधरीलाई शिक्षा सङ्कायमा स्नाकोत्तर गरेर मात्रै चित्त बुझेन । चौधरीले हाल कानून विषयमा स्नातक अध्ययन गरिरहेकी छन्।  

लमही नगरपालिका सतवरिया निवासी चौधरीका दिदीबहिनी पनि अरूकै घरमा भाडा माझ्ने र गोठालो जाने काम गर्थे । “पढाइ दिन्छु भनेर साहुले घरको काम गराउन लगे तर काम मात्रै लगाएँ”, उनले भनीन, “मेरो पढाइ छुटिसकेको थियो । विसं २०६१ मा १४ वर्ष हुँदा राप्ती मावि उचानिम्वुमा कक्षा ५ मा भर्ना भएँ । त्यसपछि मेरो शिक्षाको यात्राले निरन्तरता पाएको छ ।” पढाइसहित चौधरी कम्लहरी विकास मञ्चको केन्द्रीय सदस्य भई सामाजिक काममा पनि लागेकीछन् । 

धनगढी उपमहानगपालिका कैलालीकी समिता चौधरी अहिले २५ वर्षकी भइन । नौ वर्षको उमेरदेखि उनको कम्लहरी यात्रा शुरु भयो । बच्चा हेर्ने, भाडा माझ्ने, घाँस काट्ने जस्ता काम गरनि । लगातार पाँच वर्ष अर्काको घरमा भाडा माझिन । पछि सङ्घसस्थाको सहयोगमा उनी पनि घर फर्किएर शिक्षाको यात्रा शुरु गरिन । चौध वर्षको उमेरदेखि विद्यालय जान थालेकी समिताले स्नातक तह उत्तीर्ण गरिसकिन । अहिले उनी समाजशास्त्रमा स्नातकोत्तर तह दोस्रो वर्ष र कानून विषय लिएर स्नातक तह दोस्रो वर्षमा अध्ययन गरिरहेकी छन् ।

“कम्लहरी बस्दा धेरै बालिकाहरु शारीरिक, मानसिक र यौन हिंसामा परे । कतिपयको मुद्दा अझै अदालतमा विचाराधीन छ भने धेरै अन्याय सहेर बसेका छन्”,  उनले भनीन, “अन्यायको विरुद्धमा लड्नकै लागि कानून विषय रोजेकी हुँ ।” उनले अहिले आर्थिक आर्जनका काममा पनि आफूलाई केन्द्रित गरेकी छन्।

मुक्त कमैया विकास मञ्चका कानूनी सल्लाहकार फकला थारूले आर्थिक अवस्था कमजोर भएका मुक्त कम्लहरीलाई अझै पनि सरकारले सम्झौता गरेअनुसार शिक्षामा छात्रावृत्ति नदिएको बताइन । मञ्चका अनुसार अहिलेसम्म कम्लहरी मुक्त गरिएको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १० मुक्त कम्लहरीले स्नातकोत्तर तह पढ्दैछन् भने १९१ स्नातक तहमा अध्ययनरत छन् ।  

यस्तै ६८६ दशजोड दुई, २९६ ले कक्षा १०, एक सय ८५ले कक्षा ९, एक सय १६ले कक्षा ८, चवालिस जनाले कक्षा ७, बीसजनाले कक्षा ६, सोह्र जनाले कक्षा ५ मा अध्ययन गरिरहेका छन् । दाङमा ४८७, बाँकेमा ६७, बर्दियामा ३९५, कैलालीमा ४३३ र कञ्चनपुरमा १५१ जना मुक्त कम्लहरीले विद्यालय तहमा अध्ययन गरिरहेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया