दमक अस्पतालमा नयाँ संरचना निर्माण

६ बर्ष अगाडि

झापाको दमकस्थित एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा नयाँ संरचनाबाट सेवा शुरु भएको छ ।  काउन्टर, प्रयोगशाला, फार्मेसी तथा बहिरङ्ग सेवा नयाँ भौतिक संरचनाबाट एकैसाथ सञ्चालनमा ल्याइएको हो ।

प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त रु २६ लाखको लागतमा ती संरचनाहरु निर्माण गरिएका अस्पतालले जनाएको छ । अस्पताल परिसरमा आज आयोजित कार्यक्रममा झापा क्षेत्र नं ५ (ख)का प्रदेशसभा सदस्य अर्जुन राई र नगरप्रमुख रोमनाथ ओलीले नयाँ भवनको संयुक्त रुपमा उद्घाटन गरे ।

अस्पताल सञ्चालक समिति अध्यक्ष तथा नगर उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा कार्यक्रममा अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर तपनकुमार साहले अस्पतालमा क्रमिक रुपमा भौतिक पूर्वाधारको विकास भइरहेको र अब थप जनशक्तिको आवश्यकता रहेको बताए । हाल अस्पतालमा दैनिक ३०० देखि ५०० जनासम्म बिरामीले सेवा लिने गरेको उहाँले जानकारी दिए।

अस्पतालका लागि नयाँ सुविधासम्पन्न अर्को भवन निर्माणको प्रक्रिया पनि शुरु भएको नगरपालिकाले जनाएको छ । 

अस्पतालमा ६० कोठाको नयाँ सुविधासम्पन्न अस्पताल निर्माणका लागि अर्थमन्त्रालयले रु.२७ करोड बजेट स्वीकृत गरिसकेको नगरपालिकाका सबइन्जिनीयर कमल दाहालले जानकारी दिए । उनले प्रस्तावित नयाँ भवनका बारेमा जानकारीसमेत गराएका थिए । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया