उद्याेग राज्यमन्त्रीकहाँ उखु किसान : ४२ करोड चाहियो, नत्र सरकार बिरुद्ध संघर्ष

६ बर्ष अगाडि

चिनी उद्योगबाट ४२ करोड बक्यौता उठाउन रौतहटका उखु किसानले नवनियुक्त उद्योग राज्यमन्त्रीसँग गुहार मागेका छन् ।  

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले करीब ४२ करोड रुपैयाँ बक्यौता नतिरेपछि किसानहरुले राज्यमन्त्रीसँग बक्यौता भुक्तानी गराइदिन माग गरेका हुन ।   

चिनी उद्योगले किसानबाट उखु ल्याएको आर्थिक वर्ष २०७१/०७२ को १२ करोड र आव २०७५÷०७६ को ३० करोड, २४ लाख २२ हजार, पाँचसय ४९ रुपैयाँ नदिएको किसानहरुको गुनासो छ । 

किसान र उद्योगीबीच भएको छलफलमा बक्यौता रकम ठूलो भएकाले तत्काल भुक्तानी गर्न नसक्ने र मिलका कर्मचारीलाई अवकास दिएर मिल सञ्चालन नगर्ने उधोगी ऋतेश गोल्छाले संकेत गरेपछि ऊखु उत्पादक किसान संघका पदाधिकारीहरु राज्यमन्त्री गुहार्न पुगेका हुन् । 

संघीय सांसद रेखा झाको नेतृत्वमा आएका ऊखु उत्पादक किसान संघ रौतहटसँग आबद्ध किसानहरुले राज्यमन्त्री दुगडलाई भेटेर  आफ्ना पिडा समेत सुनाएका छन् । 

भेटमा राज्यमन्त्री दुगडले किसानले पाउने रकम दिलाउने प्रतिवद्धता जनाएको सांसद झाले जानकारी दिइन् ।

त्यतिमात्र नभइ यो सिजनमा जिल्लाका किसानले उत्पादन गरेको २० लाख क्वीन्टलभन्दा बढी ऊखु चिनी उत्पादक उद्योगीले लिनैपर्ने समेत राज्यमन्त्री मोतीलाल दुगडले प्रतिबद्धता जनाएको सांसद झाले जानकारी दिइन् ।

श्रीराम शुगर मिल्सका सञ्चालकद्वय ऋतेश गोल्छा र विशाल अग्रवाल हुन् । गतवर्ष ६३ करोड ८४ लाखको उखु खरिद गरेका उनीहरुले ७१ करोड ७० लाखको चिनी उत्पादन गरेका थिए । 

त्यसमध्ये ६४ करोड ७७ लाखको चिनी बिक्री भएपनि उनीहरुले किसानलाई जम्मा ३३ करोड ५९ लाख मात्र भुक्तानी गरेको ऊखु उत्पादक किसान संघ रौतहटले जनाएको छ ।

चिनी उद्योगमा अझै ६ करोड ९३ लाखको चिनी विक्री हुन बाँकी छ । 

उद्योगीले गत वर्ष मिलबाट बिउ वितरण गरी ऊखु खेती गर्न लगाएका थिए । तर किसानको बक्यौता भुक्तानी गर्नुको साटो यो वर्ष मिल सञ्चालन नै नगर्ने भनेपछि देखिएपछि किसानहरुले उब्जाएको २० लाख क्वीन्टलभन्दा बढी ऊखु खेर जाने आशंकाले उनीहरुलाई थप चिन्तित बनाएको छ ।

समस्या समाधानका लागी समयमै राज्यले ठोस पहल नगरेमा केहीदिन भित्रै जिल्लामा उद्योगी र सरकारबिरुद्ध कडा संघर्ष गर्ने किसान संघका सदस्य बच्चालाल यादवले बताएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया