व्यापार घाटा न्यूनीकरणका लागि सुनचाँदीका मौलीक गरगहना बेच्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायीलाई आग्रह गरेका छन् ।
देशमा व्यापार घाटा बर्सेनि बढ्दै गएको उल्लेख गर्दै उनले आयातीत सुनचाँदीमा मूल्य अभिवृद्धि गरेर त्यसलाई विश्व बजारमा पुर्याउन आग्रह गरेका हुन् ।
‘अहिले विश्वभर नेपाली पुगेका छन्, उनीहरूले नेपाली मौलिक गरगहना खोज्छन्,’ नेपाल सुनचाँदी कला व्यवसायी संघको १८औँ वार्षिक साधारणसभा एवं आठौँ केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै मन्त्री भट्टले भने, विश्वभर छरिएर रहेका नेपालीलाई मात्रै सुनचाँदीका गरगहना निर्यात गर्न सक्यौँ भने पनि त्यसले व्यापार घाटा घटाउन मद्दत मिल्छ ।’
उद्योगमन्त्री भट्टले सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउन निर्देशिकासमेत छिट्टै ल्याउने बताएका छन् ।
‘तपाईं व्यवसायीहरूले निर्देशिका नहुँदा समस्या भएको बताउनुभएको छ,’ उनले भने, ‘निर्देशिका निर्माणको चरणमै होला, राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग समन्वय गरेर जतिसक्दो चाँडो ल्याउनेछौँ ।’
मन्त्री भट्टले मौलिक कला तथा सीप प्रवद्र्धन तथा कालिगड उत्पादनमा सघाउनसमेत सरकार तयार रहेको बताए ।
उक्त अवसरमा संघका अध्यक्ष द्वारिक विश्वकर्माले सुनचाँदी व्यवसायलाई मर्यादित तथा व्यवस्थित बनाउन छिटोभन्दा छिटो निर्देशिका ल्याउनुपर्ने बताए ।
त्यस्तै उपाध्यक्ष घनश्याम रिजालले काठमाडौंबाहिर प्रदेश–प्रदेशबाट समेत सुन वितरणको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरे ।
उनले सुनचाँदी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेर व्यवसायीलाई मद्दत गरेमा यस क्षेत्रले राजस्व र विदेशी विनिमय आयमा ठूलो योगदान दिने बताए ।
प्रतिक्रिया