बढी शुल्क लिएका मेडिकल कलेज विरुद्ध आन्दोलनरत विद्यार्थीलाई फसाउन मेडिकल माफियाले नयाँ योजना बनाएको खुलेको छ ।
लामो समयदेखि आन्दोलनरत विद्यार्थीलाई फसाएर आन्दोलन तुहाउनका लागि चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल राखेको तथ्य खुलेको हो ।
भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित कलेजको परिसरमा आज दिउँसो अमेरिकामा निर्मित नाइन एमएमको अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।
त्यससँगै थ्रि नट थ्रिको सात राउण्ड खाली खोका, एक राउण्ड गोली पनि फेला परेको उनले बताए ।
विद्यार्थीबाट मेडिकल कलेजले असुलेको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेजका विद्याथीहरु लामो समयदेखि आन्दोलनमा छन् ।
चितवनबाट शुरु भएको आन्दोलन आन्दोलन वीरगञ्ज र भैरहवासम्मका मेडिकल कलेजमा पनि पुगेको छ ।
उक्त आन्दोलनको नेतृत्व गर्ने चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्द नेत्रविक्रम चन्द विप्लवका छोरा हुन् ।
विद्यार्थीले शुल्क फिर्ता नगरेसम्म आन्दोलन नरोक्ने देखेपछि अताल्लिएका मेडिकल माफियाहरुले पेस्तोल राखेर प्रकाशलाई फसाउने र आन्दोलन तुहाउने षड्यन्त्र गरेको अभिभावकहरुको आरोप छ ।
भोलि आइतबार विद्यार्थीको आन्दोलनलाई साथ दिन अभिभावकले पनि वृहत प्रदर्शन गर्ने तयारी थियो ।
त्यसैको पूर्वसन्ध्यामा पेस्तोल भेटिनु र होस्टलका सुरक्षा गार्डले प्रहरीलाई खबर गर्नु शंकास्पद रहेको भन्दै विद्यार्थीले जुनसुकै अवस्थामा पनि आफ्नो आन्दोलन नतुहिने चेतावनी दिएका छन् ।
‘होस्टलमा हतियार भनेर प्रहरीले फसाउन खोजिएको छ तर हामी शुल्क फिर्ता नभएसम्म आन्दोलन कुनै हालतमा रोक्दैनौं’, एक विद्यार्थीले भने ।
दशैँपछि एक साता मात्र पढाइ भएको उक्त कलेजमा विद्यार्थीको आन्दोलनका कारण शैक्षिक कार्यक्रम ठप्प रहेको छ ।
प्रतिक्रिया