तेह्रौँ दक्षिण एशियाली खेलकूद(साग) को लागि विभिन्न समिति गठन

६ बर्ष अगाडि

दक्षिण एशियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) आउन आठ दिन बाँकी छँदा पदक निर्धारण, खेल सञ्चालनका लागि आवश्यक प्राविधिक टोलीको सङ्ख्या निर्धारण लगायतको काम सम्पन्न भएको छ ।

खेल स्थल एवं अवधि निर्धारण, प्राविधिक जनशक्ति परिचालन, प्राविधिक पुस्तिका तयार, अन्तरराष्ट्रिय रेफी, जज, जुरी, अम्पायरलगायत उच्चस्तरीय प्राविधिक डेलिगेट्सलाई हवाई टिकट व्यवस्थापनका लागि ट्राभल डेक्ससँग समन्वयन गरी आवश्यक व्यवस्थापन कार्य सम्पन्न भएको सागका प्राविधिक समितिका संयोजक गङ्गाबाहदुर मगरले  जानकारी दिए ।

उनका अनुसार प्रत्येक खेलको तालिका अनुसार प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण जिम्मेवारी सम्बन्धित राष्ट्रिय सङ्घलाई नै दिने व्यवस्था गरिएको छ । त्यसैगरी प्रत्येक खेल स्थलमा प्राविधिक सूचना केन्द्रको व्यवस्था गरिनेछ भने सबै खेलको प्राविधिक सूचना केन्द्र हुनेछ । खेल दौरान अपिल तथा विवाद समाधानका लागि सम्बन्धित खेलको नियमानुसार जुरी समिति गठनको व्यवस्थासमेत गरिएको छ । सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।     
     
सागमा कुन खेल कहाँ हुँदैछ

सागको औपचारिक उद्घाटन मङ्सिर १५ गतेदेखि हुने भए तापनि भलिबल खेल भने मङ्सिर ११ गतेदेखि नै शुरु हुनेछ । भलिबल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कर्भडहलमा हुनेछ

यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने सागमा विभिन्न २६ खेलमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । जसमा आर्चरी, जुडो, क्रिकेट, फुटबल, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिन, फेन्सिङ, ह्याण्डबल, स्क्वास, गल्फ, उसु, तेक्वान्दो, टेनिस, सुटिङ, खोखो, पौडी र टेबल टेनिस छन् ।

त्यसैगरी एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, भारोत्तलन, कुस्ती र ट्रायथोलन रहेका छन् । नेपालले यी सबै खेलमा सहभागिता जनाउनेछ । यसअघि २७ खेलमा सहभागिता जनाउने भनिए तापनि प्याराग्लाइडिङ खेल सागमा समावेश नभएपछि २६ खेलको टुङ्गो लागेको हो ।

सागको नियमानुसार प्रतियोगिता सञ्चालनका लागि कम्तीमा तीन राष्ट्रले भाग लिनुपर्ने हुन्छ, तर नेपाल र पाकिस्तानबाहेक अन्य राष्ट्रबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ खेल नहुने निश्चित भएको हो ।  

सागअन्तर्गका खेल पोखरामा आठ, जनकपुरमा एक र काठमाडौँमा २१ खेल हुनेछ । आर्चरी, ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, ह्याण्डबल, ट्रायथोलन, भलिबल र भारोत्तलन गरी आठ खेल पोखरामा हुनेछ भने कुस्ती खेल जनकपुरमा हुनेछ । बाँकी सबै खेल काठमाडौँमा हुनेछ ।     
     
कुन खेल कहिले हुँदैछ     
     
आर्चरी खेल मङ्सिर १५ देखि २३ गतेसम्म     
एथलेटिक्स १७ गतेदेखि २१ गतेसम्म     
बास्केटबल १९ गतेदेखि २४ गतेसम्म     
बक्सिङ ६ गतेदेखि २४ गतेसम्म     
पुरुष क्रिकेट १७ देखि २४ गतेसम्म     
महिला क्रिकेट १६ देखि २३ गतेसम्म     
साइक्लिङ १७ देखि २१ गतेसम्म     
फेन्सिङ २० देखि २३ गतेसम्म     
पुरुष फुटबल १५ देखि २४ गतेसम्म     
महिला फुटबल १६ देखि २४ गतेसम्म     
गल्फ १६ देखि १९ गतेसम्म     
ह्याण्डबल १८ देखि २३ गतेसम्म     
जुडो २१ देखि २४ गतेसम्म     
कबड्डी १८ देखि २३ गतेसम्म     
कराँते १५ देखि १८ गतेसम्म     
खोखो १५ देखि १८ गतेसम्म     
सुटिङ १७ देखि २२ गतेसम्म     
स्क्वास २० देखि २४ गतेसम्म     
पौडी १९ देखि २३ गतेसम्म     
तेक्वान्दो १६ देखि १९ गतेसम्म     
टेनिस १६ देखि २३ गतेसम्म     
ट्रायथोलन १६ देखि १८ गतेसम्म     
भलिबल ११ देखि १७ गतेसम्म     
भारोत्तलन १९ देखि २२ गतेसम्म     
कुस्ती २० देखि २३ गतेसम्म     
उसु १६ देखि १९ गतेसम्म     
टेबल टेनिस १६ देखि २० गतेसम्म

सागमा नेपालबाट ५९९ जना खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । तीमध्ये पुरुष ३१२ र महिला २८७ खेलाडी रहेका छन् । सागको राष्ट्रिय टिम तयारी समितिले आयोजकको नाताले टिम र पदक जित्ने खेलको अवस्था हेरेर खेलमा खेलाडी थपघट गर्न भने सक्नेछ ।     
  
 

६ बर्ष अगाडि

प्रतिक्रिया