पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको जिल्लाको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा जग्गा विकास कार्यक्रम लागू गरिने भएको छ । मानहुँमा रहेका जग्गालाई एकीकृत गरी व्यवस्थितरुपमा विकास गर्नका लागि नगरपालिकाले जग्गा विकास कार्यक्रमलाई अगाडि बढाएको हो ।
मानहुँको मौलिक चरित्रलाई यथावत् राखी आधुनिक ढङ्गबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम लागू गर्न लागिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । मानहुँमा बाहिरका व्यक्तिले जग्गा किनेर आफ्नो ढङ्गले व्यवस्थापन गर्न लागेपछि नगरपालिकाले नै व्यवस्थित ढङ्गबाट जग्गाको विकास गर्न आवश्यकता खड्किएको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।
मानहुँका मगरहरुले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किन्ने क्रम बढ्दै गइरहेको छ,नगरप्रमुख न्यौपानेले भन्ने,त्यसैलाई मध्यनजर गर्दै मानहुँका जग्गालाई व्यवस्थापन गर्न खोजेका हौँ । नगरप्रमुख न्यौपानेका अनुसार मानहुँमा रहेका केही सार्वजनिक जग्गालाई पनि जग्गा विकास कार्यक्रममा समावेश गरेर लगिनेछ ।
मानहुँमा घर निर्माण गर्दा मौलिक परम्परालाई ख्याल गरिने भन्दै नगरप्रमुख न्यौपानेले घरभित्र सिमेन्टको प्रयोग भएपनि बाहिरबाट हेर्दा मौलिक खालको देखिनुपर्ने भएकाले त्यसतर्फ नगरपालिकाले सोच बनाएको बताए ।
नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यास नगरपालिका–५ पतेनीटार, व्यास नगरपालिका–६ शिशाघाट, व्यास नगरपालिका–७ नरङ्गा फाँट र व्यास नगरपालिका–१० बैरेनी क्षेत्रमा विस्तार गर्ने जनाएको थियो । सोहीबमोजिम बैरेनी र शिशाघाटमा जग्गा विकास कार्यक्रम सञ्चालनका लागि उपभोक्ता समिति गठन भइसकेको नगरपालिकाका इञ्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिए ।
जग्गा विकास कार्यक्रम लागू भएपछि व्यक्तिका सबै जग्गाको लालपूर्जा सरकारलाई बुझाउने र नयाँ नापीअनुसार जग्गा वितरण गरिनेछ । जग्गा विकास कार्यक्रमका लागि नगरपालिकाले आफ्नै एकाइ बनाएको छ । धेरै पर्यटकको ध्यान अहिले मानहुँकोटमा केन्द्रित भइरहेकाले मानहुँलाई व्यवस्थित गर्न खोजिएको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए।
मगरको गाउँ मानहुँ र गुरुङको गाउँ पुलिमराङसँग जोड्न प्रत्येक वर्ष म्याराथन प्रतियोगितासमेत हुँदै आएको छ ।केही वर्षसम्म उजाड रहेको मानहुँकोट अहिले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेकोले यहाँ जग्गा विकास कार्यक्रम लागू गर्न खोजेर नगरपालिकाले राम्रो कामको शुरुआत गरेको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए । जग्गा विकास कार्यक्रमले मानहुँकोटको थप विकास हुने हो, यसका लागि स्थानीयवासी जागरुक बन्नुपर्छ, वाग्लेले भन्ने ।
गत वर्ष व्यास नगरपालिका–११ रानीगाउँमा जग्गा विकास कार्यक्रमका लागि प्रकृया प्रारम्भ गरेपनि स्थानीयवासीको विरोध पछि उक्त कार्यक्रम स्थगित भएको थियो । स्थानीयवासीलाई कार्यक्रम बारे बुझाउन कठिनाइ भएको नगरपालिकाले जनाएको छ । जग्गा विकास कार्यक्रमका लागि उक्त ठाउँमा प्रारम्भिक अध्ययन समेत भइसकेको छ ।
जग्गा विकास कार्यक्रम सञ्चालनका लागि वडाध्यक्ष मोहनकुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिमा स्थानीयवासी, जग्गाधनी, टोल विकास संस्थाका पदाधिकारी सदस्य छन् । समितिमा सुरबहादुर थापा, केशरी थापा, मानध्वज थापा, शङ्कर थापा, डिल्लीराज थापा, झुलबहादुर थापा, देवकुमार श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, प्रेम राउत, विश्वराज खनाल, दुर्गाराज थापा, रेवती आले र कृष्ण न्यौपाने सदस्यको रुपमा रहेका छन् । पदाधिकारी भने समितिको बैठकले टुङ्गो लगाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया