काठमाडौं – चालु आवको पहिलो तीन महिनामा विदेशबाट आउने रेमिट्यान्स (विप्रेषण) घटेको छ । साउनमा २ प्रतिशते मात्र बढेको रेमिट्यान्स भदौ र असोजमा भने घट्न पुगेको हो ।
यस बीचमा तीज, दशैैं जस्ता नेपालीहरुको महान चाडपर्व पर्छन्, यस्ता पर्वहरुमा विदेशबाट उच्च मात्रामा रेमिट्यान्स नेपाल भित्रिने गर्छ । तर, यो बर्ष भने ठीक उल्टो देखिएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको एक प्रतिवदेनले यस्तो देखाएको हो । उक्त प्रतिवेदन अनुसार समिक्षा अवधीमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले घटेको छ ।
गत आवको समिक्षा अवधीमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेर रू. २ खर्ब ४२ अर्ब १७ करोड पुगेको थियो, तर अहिले रू. २ खर्ब ३० अर्ब २४ करोडमा खुम्चिएको छ ।
बिशेषगरि यस बर्ष रेमिट्यान्स आउने आधार कम भएर यस्तो भएको नेपाल राष्ट्र बैंकका अधिकारीहरू बताउछन् । २०७४ साल फागुनदेखि भन्सारमा सन्दर्भ मुल्य लगाएपछि अनौपचारिक व्यापार औपचारिक रुपमा हुन थाल्यो । साथै, हुन्डी जस्ता अनौपचारिक कारोबार पनि हुन सकेन, जसले गर्दा रेमिट्यान्स बढेको थियो ।
यस्तै, डलरको भाउ बढी हुँदा, नेपालमा निक्षेपको व्याजर बढ्दा पनि विदेशमा भएको नेपालीले बढी पैसा पठाउने गरेका थिए । राष्ट्र बैंकका एक अधिकारीले भने, ‘निक्षेपको व्याजदर र डलरको भाउ बढी भएपछि विदेशमा भएका नेपालीले होल्ड गरेर राखेको पैसा नेपाल पठाउन थाले । जसले गर्दा गत बर्ष व्यापाक मात्रामा रेमिट्यान्स आएको थियो । तर, अहिले रेमिट्यान्स आउने आधार छैन ।’
उनका अनुसार यस बर्ष डलरको भाउ घट्ने, विश्व अर्थतन्त्रमा ह्रास आउने, विदेशिने नेपाली कामदार घट्दै जाने जस्ता कारणले रेमिट्यान्स घटेको हो । विशेषगरि मलेसियाका रोजगारी रोकिदा विप्रेषणमा नकरात्मक असर पुगेको उनको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो ।
पुनः श्रम स्वीकृतिका आधारमा भने वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया