१६ लाख लागतमा अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण

६ बर्ष अगाडि

गलकोट नगरपालिका–३ हटिया बजारमा अपाङ्गतामैत्री सार्वजनिक शौचालय निर्माण गरिएको छ । जीपपार्क चोक नजीकै निर्मित शौचालय चारकोठे छ । गलकोट नगरपालिकाको  सात लाख र गण्डकी प्रदेश सरकारको नौ लाख बजेटमा शौचालय बनेको हो ।

शौचालयमा ‘ह्विलचेयर’ लैजान मिल्ने ‘र्याम’, चौडा ढोका, फराकिलो शौचालय, समाउने ठाउँलगायत अपाङ्गतामैत्री संरचना बनाइएको छ । अपाङ्गता भएका व्यक्तिबाहेक अन्य पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै शौचालय कोठा छ ।

अपाङ्गता भएका व्यक्तिका लागि पहिलोपटक पहुँचयोग्य सार्वजनिक शौचालय बनाइएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । भएको शौचालय पनि जीर्ण थियो, अपाङ्गतामैत्री थिएन, उनले भन्ने, अब सबैका लागि सहज भएको छ ।

हटिया क्षेत्रमा बढ्दो बजारीकरणसँगै सार्वजनिक शौचालयको अभाव खट्किरहेको थियो । नगरभित्र आवश्यक पर्ने अन्य स्थानमा पनि सार्वजनिक शौचालय निर्माणको योजना छ । पछिल्लो समय भौतिक संरचनाहरु अपाङ्गतामैत्री बनाउने क्रम बढ्दो छ ।

विद्यालय, अस्पतालजस्ता क्षेत्रमा पनि अपाङ्गता भएको व्यक्तिको सहज पहुँच पुग्ने गरी संरचना बनाउनुपर्ने सरकारी नीति नै छ । भौतिकमात्र नभएर अन्य क्षेत्रमा पनि अपाङ्गता भएका व्यक्तिको सहज पहुँचको सुनिश्चितता हुनुपर्ने माग उठ्ने गरेको छ ।     
  
 

६ बर्ष अगाडि

प्रतिक्रिया