कैलालीको चुरे गाउँपालिका–४ खैरालासम्म मोटरबाटो पुगेपछि त्यहाँ उत्पादित कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको छ ।
सुन्तला, अदुवा, भटमास, बेसार, केरा, मकै, खसीबोका, घ्यूलगायत कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको हो । यसपालि सुन्तला उत्पादक किसानले विगतको तुलनामा राम्रो मूल्य पाएका छन् । मोटरबाटोको अभावमा विगतमा खैरालाका सुन्तला उत्पादक किसानले डोकोमा बोकेर कैलालीको चौमाला बजारमा बिक्री गर्दै आएका थिए ।
गत वर्ष चौमालामा प्रतिकिलो ५० का दरले सुन्तला बिक्री गरेका खैरालाका किसानले यसपालि बारीबाटै प्रतिकिलो ९० का दरले सुन्तला बिक्री गरिरहेको स्थानीय कृषक गणेश चन्दले बताए ।
गत वर्ष चौमालाबजार पुर्याएर पनि ३० देखि ५० का दरमा सुन्तला बेचेका थियौँ, उनले भन्ने, यसपालि बारीमै आएर व्यापारीले ९० मा खरिद गरेर लगे । धनगढी, अत्तरिया वा अन्य बजारमा अन्य ठाउँको सुन्तला अहिले सय प्रतिकिलोका दरले बिक्री भइरहेको छ भने खैरालाको सुन्तलाको मूल्य प्रतिकिलो१५० रहेको छ ।
खैरालामा उत्पादित कृषिजन्य वस्तु धनगढी, अत्तरिया, चौमाला लगायतको बजारमा पठाइने गरेको छ । खैरालाको गर्भासम्म मोटरबाटो पुगेपछि यहाँका किसानलाई सुन्तलालगायत कृषिजन्य वस्तु बजारमा पठाउन सजिलो भएको स्थानीयवासीको भनाइ छ ।
प्रतिक्रिया