काठमाडौं – नेपाल बैंकर्स संघको ३३ औं कार्य समितिका लागि मंसिर १९ गते चुनाव हुने भएको छ । संघको आइबारको बैठकले यस्तो निर्णय गरेको हो । हालका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगनासहित केही सदस्यको कार्यकाल सकिन लागेपछि संघले नयाँ कार्यसमिति बनाउने तयारी गरेको हो ।
संघले आगमी अध्यक्ष तथा अन्य पदाधिकारीका लागि सोमबारदेखि नै उम्मेदवारी दर्ता खुला गरेको छ । संघमा आवद्ध र तोकिएको योग्यता पुग्ने बैंकरहरूले मंसिर १७ गतेसम्म कुनै पनि पदमा उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।१९ गते दुई जना सदस्य बाहेक अन्य पदका लागि निर्वाचन हुन सक्ने बताइएको छ । सदस्यद्धय सुमन शर्मा र गोविन्द गुरूङको कार्यकाल अझै बाँकी रहेको संघको भनाइ छ ।
बैंकर्स संघ २८ बाणिज्य बैंकको छाता संगठन हो । यसमा अध्यक्ष र उपाध्यक्ष सहित नौ सदस्यीय कार्यसमिति हुनेछ । संघको समितिमा सचिव, कोष अध्यक्ष जस्ता पद भने छैन । सविचको जिम्मेवारी भने संघका कार्यकारी निर्देशकमा रहेने व्यक्तिले सम्हाल्दै आएका छन् ।
संघको बैठकमा अध्यक्षमा सर्वसम्मति गर्ने अनौपचारिक छलफल पनि भएको थियो । तर यस बिषयमा ठोस निर्णय भने गरिएको छैन । बिगतमा कार्य समितिको उपाध्यक्षलाई नै संघको अध्यक्ष बनाउने गरिएको पाइन्छ । यदि, यो पटक पनि सोही नीति दाहोरियो भने हालका उपाध्यक्ष तथा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर अध्ययक्ष बन्न सक्नेछन् ।
तर, उनी आइतवारको बैठकमा उपस्थीति नभएको बताइएको छ । कार्यकाल सकिएका कतिपय सदस्यहरू पुनः दोहोरिने सम्भावना पनि रहेको स्रोतको भनाइ छ ।
प्रतिक्रिया