बैंकहरूको नाफा निराशाजनक : पहिलो त्रैमासमा जम्मा ६.२५% ले बृद्धि, ८ बैंकको नाफा नै घट्यो

६ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्ष (आव) २०७६÷७६ को पहिलो त्रैमासमा बाणिज्य बैंकहरूको नाफा निराशाजनक देखिएको छ । अघिल्ला त्रैमासहरूमा बैंकहरूको उच्च बद्धिदरका साथ नाफा कमाउँदै आएका थिए, तर चालु आवको प्रथम त्रैमासमा बैंकहरुले सो बराबरको बृद्धिदर कायम गर्न नसकेको देखिन्छ ।

चालु आवको पहिलो त्रैमासमा २८ बाणिज्य बैंकले रू. १६ अर्ब १७ करोड ६० लाख मुनाफा गरेका छन्, जुन गत आवको समिक्षा अवधीको तुलनामा ६.२५% ले मात्र बढी हो । गत आवको सो अवधी बैंकहरूले रू. १५ अर्ब २२ करोड २३ लाख मुनाफा कमाएका थिए ।त्यसमाथि समिक्षा अवधीमा ८ बैंकको नाफामा गिरावट आएको छ । समिक्षा अवधीमा नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबीआई, बैंक अफ काठमाडौं जस्ता नाम चलेका बैंकको पनि नाफा घटेको छ । नेपाल इन्भेष्टमेन्टको नाफा १९.९३ प्रतिशतले घटेर रू. ८४ करोड ४४ लाखमा खुम्चिएको छ । गत आवको समिक्षा उक्त बैंकले रू. १ अर्ब  ५ करोड नाफा कमाएको थियो । यस्तै, एसबीआईको बैंकको नाफा १०.७२ प्रतिशतले घटेर रू. ४३ करोड ७२ लाख ३० करोडमा सिमित भएको छ । गत आवको समिक्षा अवधीमा उक्त बैंकले रू. ४८ करोड ९७ लाल रूपैयाँ मुनाफा कमाएका थियो ।

नेपाल बैंकको नाफा पनि ३६.३३ प्रतिशतले घटेर रू. ५८ करोड १८ लाखमा खुम्चिएको छ । गत आवको समिक्षा अवधिमा नेपाल बैंकले रू. ९१ करोड ३९ लाख नाफा कमाएको थियो । यसैगरि सिटिजन बैंक इन्टरनेशनलको १८.५७ प्रतिशत, एनसीसीको २०.६१ प्रतिशत, सिभिलको १४.१० प्रतिशत, सिद्धार्थको ०.६९ प्रतिशत र बैंक अफ काठमाडौंको ०.८० प्रतिशतले नाफा घटेको सम्बद्ध बैंकको पहिलो त्रैमासिक वित्तिय विवरणले देखाँछन् ।
 
बैंकरहरू पनि पहिलो त्रैमासको नाफाबाट सन्तुष्ट छैनन् । बैंकको संख्या धेरै भएपछि अहिले बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा बढेको छ, जसले गर्दा बैंकहरूले निक्षेपमा बढी व्याज दिने र कम व्याजमा कर्जा प्रवाह गर्ने गरेको छन् । साथै, जथाभावी शाखा पनि विस्तार गर्दा बैंकहरूको संञ्चालन खर्च बढेको छ । तर, सो अनुसारको आम्दानी गर्न सकेका छैनन्, यस्ता कारणले गर्दा बैंकहरूको नाफा नबढेको सानिमा बैंकका एक अधिकारीले बताए ।

यद्यपि, पहिलो त्रैमासमा तीन बैंकले भने राम्रो नाफा कमाएको देखिन्छ । एक सरकारी बैंक सहित तीन बाणिज्य बैंकले चालु आवको पहिलो त्रैमासमा एक अर्ब रूपैयाँभन्दा बढी नाफा कमाउन सफल भएका छन् । राष्ट्रिय बाणिज्य बैंक, नविल बैंक र एनआईसी एशिया बैंकले अर्ब भन्दा बढी नाफा कमाएका हुन् ।

नाफा कमाउने बिषयमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक नै अगाडि देखिएको छ । उक्त बैंकले यस अवधीमा रू. १ अर्ब १२ करोड ७५ लाख नाफा कमाएको छ । यस्तै, नबिल बैंकले रू. १ अर्ब १२ करोड ३५ लाख र एनआईसी एशिया बैंकले रू. १ अर्ब ९६ लाख नाफा कमाएको देखिन्छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया