नेपाल दक्षिण एसीयामै सबैभन्दा कम ऋण भएकाे मुलुक भएकाे छ । पहिलेदेखि नै अर्थमन्त्रीहरूले ध्यान दिएकाे कारण नेपाल दक्षिण एसियामा सबैभन्दा कम ऋण भएकाे मुलुक हुन सकेकाे अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
'अहिले नेपाल दक्षिण एसियामा सबैभन्दा कम ऋणमा छ । राजस्व प्रणालीबाट धेरैजसो कुरा धानेका छौँ', आठौँ राष्ट्रिय कर दिवसमा बोल्दै खतिवडाले भने 'मैलेमात्र होइन पहिलेको अर्थमन्त्रीले ध्यान दिएकाले अत्यधिक ऋणबाट मुक्त छौँ ।'
उनले राजस्व प्रणालीमा करका कुरा नगर्ने हो हामी ऋणको बाटोमा जाने र मुलुक संकटमा पर्ने भएकाेले आजको लोकप्रियतालाई नहेरी भोलिको लागि कर उठाएकाे बताए ।
उनले कतिपयले आफूलाई धेरै कर लगायो भनेर अनपपुलर भयो भनेको गुनासाे गरे । ‘कतिपयले मलाई धेरै कर लगायो भन्छन् तर हामीले आजको लोकप्रियता भन्दा भोलिको जवाफदेहित हेरेका छौँ ’ उनले भने 'करका कानुन थपिएका छन् तर दण्ड सजाय बढाउने कानुन थपिएको छैन ।'
तीनै तहमा देखिएको कर अन्यौलता हटाउन सरकार लागिपरेको उनकाे भनाइ छ । कानुन कडा भयो भनेर कतिपयले भनेपिन राजस्व चुहावटसम्बन्धी ऐनमा संशोधन गरेर थुनछेक, जेल जानुपर्ने कुरा घटाइएको उनकाे भनाइ छ । 'यतिधेरै सुधार भएको कुरालाई नहेरेर व्यवसायीहरुले कर बढ्यो मात्र भनिदिनुभएको छ' उनले भने 'विश्वभरको मान्यताप्राप्त विधिलाई पालना गरेर नै हामीले कानुन बनाउने हो । जे अपराध हो त्यसको सजाय सबैले भोग्नुपर्छ ।'
उनले तीनै तहको कर अन्यौलता समाप्त पार्ने बताए । 'संघ, प्रदेश र स्थानीय तहको कानुन बाझिएकै हो त्यसले कर उठाउने अन्यौलता बढेकै हो तर त्यो समाप्त पार्नेतर्फ हामी गएका छौँ । केही समाप्त भइसकेको छ । उठेको कर व्यवस्थित हुनुपर्छ ', मन्त्री खतिवडाले भने ।
उनले छिमेकी मुलुकका करका दरलाई पनि तादम्यता मिलाउनु पर्ने र कतिपय वस्तुमा व्यापार विचलन हुन थाल्यो भने त्यो करका माध्यमबाट मिलाउनुपर्ने भएकाेले आर्थिक ऐनको सुविधा र अधिकार प्रयोग गरेर करका दरमा परिमार्जन गरेकाे उनकाे भनाइ छ ।
खतिवडाले सामाजिक सुरक्षासँग सम्बन्धित करका विषयमा देखिएका दुविधा व्यवस्थापन गर्ने गर्ने जानकारी दिए ।
भन्सारमा आधारित राजस्व क्रमशः कुल राजस्वको एक चौथाइतिर झर्दैछ गरेकाे र अब त्यो दिन धेरै टाढा नभएकाे भन्दै उनले तीन चौथाइ राजस्व आन्तरिकबाट उठाउँउने बताए ।
'यसका लागि हामीलाई सुरुमा कठीनाइ हुन्छ । कतिपय करका कानुनहरु, नियमन तथा विधिहरु संशोधन गर्नुपरेको छ', मन्त्री खतिवडाले भने 'केही ऐन संशोधन गर्दा अलि अफ्ठेरो भएको जस्तो तिरमिराएको जस्तो भएको हो । अहिले व्यवसायिक जगतमा देखिएको समस्या अँध्यारोबाट उज्यालोमा जाँदा आखा तिरमिराएको जस्तो मात्र हो । '
उनले आफू गभर्नर हुँदा राष्ट्रिय बाणिज्य बैंकमा साढे ४ अर्ब ठाडो चेक काटेर अर्थमन्त्रालयले हालेकोमा खुबै चर्चा भएकाे सम्झँदै अहिले यही बैंक एकै बर्षमा ५ अर्ब राजस्व नै तिर्न सक्ने भएकोमा खुसी व्यक्त गरे ।
त्यस्तै सरकारले नेपाल बैंकमा पनि डेढ अर्ब लगानी गरेकोमा अहिले त्यतिनै राजस्व तिर्ने हैसियत नेपाल बैंकले राखेको उदाहरण दिँदै राज्यले गरेको सबै लगानी घाटामा मात्र जान्छ भन्ने नसाेच्न सुझाए ।
अब बैंकपनि जान नपर्ने गरी मोबाइलबाटै कर तिर्ने व्यवस्था गर्न लागेकाे भन्दै मन्त्री खतिवडाले हाम्रो कर नीति स्वेच्छिक कर घोषण गर्नेतर्फ जान लागेकाे बताए ।
प्रतिक्रिया