प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारीप्रति लगनशील भई कार्य गरेमा हरेक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने बताएका छन्।
महानगरीय प्रहरी दिवस २०७६ का अवसरमा आज राजधानीमा आयोजित समारोहमा उहाँले प्रहरी कर्मचारीले पूर्ण व्यावसायिकताका साथ जिम्मेवारी बहन गर्दै कार्यसम्पादन गरे नागरिकले सुरक्षाको पूर्ण अनुभूति प्राप्त गर्ने जिकिर गरे ।
प्रहरी कर्मचारीलाई इमान्दार, निष्पक्ष, निडर र निर्भिकताका साथ कानून कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन निर्देशन दिँदै उहाँले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाइ समाजलाई भयरहित बनाउनु प्रहरीको जिम्मेवारी भएको बताए ।
स्थानीय तह तथा समाजका सबै वर्गसँग सहकार्य गर्दै अगाडि बढ्न र आपराधिक गतिविधि नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमले महत्वपूर्ण योगदान पुगेको उहाँले बताए । समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण सहयोगी र फलदायी रहेको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो । उक्त अवसरमा पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र नागरिक समाजकातर्फबाट प्रा डा वासुदेव त्रिपाठीले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया