वैदिक ज्ञान प्रचारप्रसारमा योगदान गर्दै आएको गोकर्णेश्वर–४ स्थित कान्तिभैरव गुरुकुललाई दाताले रु एक लाख १०५ सहयोग गरेका छन् । गोकर्णेश्वर–८ निवासी समाजसेवी दीपकसिंह भण्डारीले गुरुकुलको सहयोगार्थ नगद सहयोग गर्दै आम जनमानसमा वैदिक ज्ञान फैल्याउन प्राचीनकालदेखि नै गुरुकुलले सहयोग गर्दै आएको बताए ।
गुरुकुलजस्ता प्राचीन शिक्षालयको प्रवद्र्धन गर्न सकेमा मात्र गौरवशाली पूर्वीय संस्कृति सुरक्षित हुन सक्ने उहाँको धारणा थियो । विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशील भण्डारीले धार्मिक, शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । नगरपालिकाको धार्मिक समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख सन्तोष चालिसेले पुरातन संस्कृतिको जगेर्नामा स्थानीय सरकार लागिपरेको बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, समिति संयोजक पण्डित दिवाकरप्रसाद भण्डारी, समिति सदस्य कुलप्रसाद पुडासैनी, प्रा डा ऋषिराम पोखरेल, डा चिन्तामणि योगी, गुरुकुलका प्राचार्य श्रीराम अधिकारीले गोकर्णेश्वर, उत्तरवाहिनी क्षेत्रलगायत नगर क्षेत्रका धार्मिक सम्पदालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । गुरुकुलमा ६० जना विद्यार्थीलाई आवासीय सुविधासहित अध्ययनरत छन् । यहाँका बटुकले राष्ट्र एवं विश्वशान्तिको सङ्कल्पले दैनिक वैदिक रुद्राभिषेक महायज्ञसमेत गर्दै आएका छन् ।
प्रतिक्रिया