उपनिर्वाचनमा बैतडीमा चार हजारभन्दा बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन् । दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८०८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौंडी नगरपालिका–४ मा एक हजार ९०९ मतदाता रहेका निर्वाचन अधिकारी फुयाँलले जानकारी दिए ।
निर्वाचन हुने ३ वडामा पाँचवटा मतदान केन्द्र तोकिएका छन् । दोगडाकेदार–४ मा केदारनाथ मावि पीपलकोट र हुनैनाथ मावि कपिन्ना, सुर्नया गाउँपालिका–१ मा गाविस भवन गुर्केली र पुर्चांैडी नगरपालिका– ४ मा महादेव मावि सिवावो, पहरोल मावि बाङ्गा मतदान केन्द्र तोकिएका छन् ।
पीपलकोट माविमा एक हजार २२९, हुनैनाथ माविमा ५७९, गाविस भवन गुर्केलीमा ६१९, महादेव माविमा ८६५ र पहरोल मावि मतदान केन्द्रमा एक हजार ४४ मतदाताले मतदान गर्न पाउने भएका छन् । यसै वर्षको साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन् ।
वडाध्यक्ष रिक्त रहेका बैतडीका ३ वडामा मङ्सिर १४ मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका उम्मेदवारी दिएका राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
प्रतिक्रिया