भौगोलिक विकटतासँगै विभिन्न समस्याबाट गाँजिएको उपल्लो डोल्पाका स्थानीयवासी आम्ची (लामाको औषधि)का भरमा उपचार गर्न बाध्य छन् । वर्षमा एक पटक मात्र औषधि उपल्लो डोल्पामा लैजाने गरेको स्थानीयवासीले बताएका छन् ।
उपल्लो डोल्पामा बसोबास गर्ने आम्ची (गुम्बाका लामा)ले जङ्गलबाट ल्याएको जडीबुटीलाई औषधि बनाएर प्रयोग गरी स्थानीयवासीको उपचार गर्दै आएका छन् । भूगोलका हिसाबले नेपालकै ठूलो जिल्ला भए पनि सेवा र सुविधाका हिसाबले यहाँको जनजीवन निकै कष्टकर छ ।
उपल्लो डोल्पामा रहेका स्वास्थ्य संस्था पायक पर्ने ठाउँमा नहुँदा आम्चीले बनाएको औषधिका भरमा यहाँका बिरामीको उपचार हुँदै आएको स्थानीयवासीको गुनासो छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिका, छार्काताङसोङ गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकामा अत्यधिक चिसो हुनुका साथै विकेन्द्रीकरण बसाइँका कारण सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन नसकेको स्थानीय तहले बताउँदै आएका छन् ।
डोल्पोबुद्धका वडा नं ५ र ६ का वडामा वार्षिक एकपटक मात्र औषधि पुग्ने गरेको सिमेन्टकी डयाङा लामाले दुखेको पोखिन् । उनले भन्ने,गाउँपालिकाको १ नं धोमा स्वास्थ्यचौकी छ, सिमेन्ट र तिन्जेमा स्वास्थ्य संस्था छैन, सामान्य टाउको, रुघाखोकी लाग्दा पनि औषधि नहुँदा स्थानीयवासी आम्चीसम्म पुगेर उपचार गर्छन् ।
नजिक स्वास्थ्य संस्था नहुनु र दैनिक आम्ची हुने ठाउँमा गएर उपचार गराउन यहाँका स्थानीयवासी आम्चीलाई भगवान्सहर मान्दै आएको उनको भनाइ छ ।स्वास्थ्य सेवा मात्र होइन, हरेक कुराले दैनिक पिरोलेको डोल्पोबुद्ध–१ का वडाध्यक्ष ग्याल्बो थापा भोटेले बताए ।
उनले भन्ने, स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी छैनन्, स्वास्थ्यकर्मी समायोज भएर बाहिर गएपछि समस्या भएको हो । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुनु र औषधिसमेत नहुँदा आम्चीका भर पर्नुपर्ने बाध्यता उपल्लो डोल्पावासीका लागि बाध्यता हो ।
सिसोलका आम्चीले भन्ने,बिरामी हुनेबित्तिकै गाउँलेहरु बिरामी लिएर आउँछन्, जानेबुझेको औषधि गरेर पठाउँछौँ । अहिले उपल्लो डोल्पामा चिसो बढेर हिमपात शुरु हुन थालेकाले सात ठाउँका प्रहरी चौकी सदरमुकाम दुनै सारिएका छन् भने विद्यालयसमेत बन्द छन् । गर्मी मौसम शुरु नभएसम्मका लागि यहाँ कुनै पनि गतिविधि नहुने देखिन्छ ।
तल्लो डोल्पाबाट आवश्यक खाद्यान्न लिएर उपल्लो डोल्पाका स्थानीयवासी कोहीँ त्यहाँ बसेका छन् भने कोही जाजरकोट, नेपालगञ्ज, काठमाडौँ र सुर्खेत आइसकेका काइके गाउँपालिका–७ का अध्यक्ष रामचन्द्र रोकायले बताए ।
प्रतिक्रिया