म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा रहेको कैलाश आधारभूत विद्यालयमा चित्रकला कार्यशाला सम्पन्न भएको छ । अमेरिकाको गिभ पावर संस्थाको सहयोगमा कला कुशाले आयोजना गरेको दश दिने कार्यशालामा २६ विद्यार्थी सहभागी थिए । सुभद्रा मर्हजन, योगेश अवाली र रगेन्द्रमान श्रेष्ठले चित्रकला सिकाएका थिए ।
विद्यार्थीहरुले पहाड, हिमाल, वनजङ्गल, ग्रामीण जीवनशैली झल्काउने चित्र तयार पारेका थिए । कक्षा ५ का मिलन सुनारले यसअघि अरूले किताबमा बनाएको हेरेर चित्र बनाउँथे । कार्यशालामा सहभागी भएपछि सुनारले दिमागमा सोचेको विषयलाई चित्रमा उतार्नु वास्तविक चित्रकला भएको बुझेको बताए । कक्षा ३ का मिठास सुनारले पहिले हेरेर चित्र बनाउने गरेकामा अहिले सोचेर बनाउन थालेको बताए।
कार्यशालामा सहभागी हुन धौलागिरि हिमालको फेदीमा रहेको बगर गाउँ पुगेका चित्रकारहरुले त्यहाँको प्राकृतिक सौन्दर्यले प्रभावित भएको बताए । विद्यार्थीलाई किताब र अरूले बनाएका हेरेर होइन दिमागमा आएको चित्रलाई पानामा कोरेर चित्र बनाउनुपर्छ भन्ने भावनाको विकास गराउन कार्यशाला चलाएका हौँ, मर्हजनले भन्ने,यहाँको वातावरण र प्राकृतिक सौन्दर्यले हामीलाई पनि मोहित तुल्यायो ।
अमेरिकाको गिभ पावर संस्थाको सहयोगमा यसअघि राजधानी उपत्यकाबाहिर सिन्धुपाल्चोक पनौती, पोखरा र नवलपरासीका साथै म्याग्दीको टिकोट र नांगीमा पनि चित्रकला कार्यशाला गरेका थिए । विद्यार्थीले बनाएको चित्रकला गाउँमा आउने पर्यटकलाई बिक्री गर्न सकिने कैलाश आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर पुर्जाले बताए। विद्यार्थीमा कलाको विकास, गाउँको कलालाई प्रचारप्रसारका साथै विद्यार्थीलाई आयआर्जनमा पनि सहयोग पुग्ने उनले बताए।
प्रतिक्रिया