झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरी नौ करोड ९५ लाख राजश्व छली गर्ने एक व्यवसायीलाई राजस्व अनुसन्धान विभागले १९ करोड ९९ लाखको मुद्दा दायर गरेको छ ।
काभ्रेपलाञ्चोक घर भई काठमाडौं महानगरपालिका–३४ बस्ने लक्की एएस इन्टरप्राइजेजका सञ्चालक सुनिलकुमार गौतमलाई विभागले राजश्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।
विभागले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्धामा विगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैदको माग दाबी गरिएको छ ।
उक्त कम्पनीले मूल्य अभिवृद्धि करको बीजकमात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजश्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।
राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कसुर गरी मूल्य अभिवृद्धि करतर्फ रु तीन करोड ५९ लाख ९९ हजार र आयकरतर्फ रु छ करोड ३५ लाख ६३ हजार राजश्व चुहावट गरेको विभागले जनाएको छ ।
यसअघि एक साता अघिमात्र मात्रै विभागले झण्डै रु २१ करोड बिगो बराबरको राजश्व छली गरेको आरोपमा भारतीय नागरिकसहित १६ विरुद्ध मुद्दा चलाएको छ ।
प्रतिक्रिया