नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ (करण) ले कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने उपनिर्वाचन राजनीतिक हिसाबले पार्टीको अग्निपरीक्षाको रुपमा रहेको बताएका छन् ।
पेशागत व्यवसायी निर्वाचन परिचालन कमिटी पोखरा १७ द्वारा आयोजित विस्तारित भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन, मतदाता शिक्षासँगै मतको संरक्षणका लागि नेतृत्व र कार्यकर्ता तह सङ्गठित भएर लाग्न आग्रह गरे।
सरकारको समृद्धिको अभियानलाई सफल बनाउन कार्यकर्ता उत्पादनसँग जोडिनुको विकल्प नभएको बताउँदै उनले कृषि, पर्यटन र विद्युत् मुलुकको समृद्धिको आधार भएको उल्लेख गरे । नेकपा कास्की जिल्ला अध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक कृष्ण थापाले इमान, जमान र स्वाभिमानसहित निर्वाचनमा जुट्न सकेमात्र विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे।
विस्तारित भेला आयोजिक समितिका संयोजक चित्रराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला सदस्य सुवर्ण श्रेष्ठ, पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारी, कृष्ण लम्साललगायतले निर्वाचनमा सबै एकजुट भएर जुट्नुपर्ने बताए ।
प्रतिक्रिया