मध्यपहाडी राजमार्ग योजना कार्यालयले गोरखामा कालोपत्रे गर्ने ठेक्का पाएका दुई ठेकेदार कम्पनीसँग ठेक्का तोड्ने भएको छ ।
ठेक्का लिएको ५ वर्षसम्म पनि काम सम्पन्न नगरेको भन्दै कार्यालयले रसुवा एलीट सूर्य जेवी र एमपी, एससीएफ ईसीसी जेभीसँग ठेक्का तोड्ने तयारी गरेको हो ।
रसुवाले गोरखाको आरुघाट– ओक्ले खण्ड र एमपी एससीएफले ओख्ले कायाभञ्ज्याङ्ग– घ्याम्पेसाल तथा घ्याम्पेसाल– निवेल–खहरे खण्डको ठेक्का लिएका थिए ।
२०७१ सालदेखि ठेक्का लिएको रसुवा २०७२ देखि ठेक्का लिएको एमपीले काम शुरु गरी लामोसमयदेखि छाडेको र पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदासमेत काम सम्पन्न गर्न चाँसो नगरेको भन्दै ठेक्का तोड्न लागेको आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाले दुवै ठेकेदार कम्पनीलाई भरपर्दो स्रोत परिचालन योजना सहित सातदिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन गर्दै उपस्थित नभएका ठेक्का तोड्ने जनाएको छ ।
ठेक्का तोड्ने अबस्थामा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने, ठेक्काको सम्पूर्ण जमानत जफत गर्ने, सम्झौता बमोजिमको बाँकी काम पूरा गर्न आवस्यक पर्ने रकम, निर्माणस्थलको सुरक्षाका लागि लाग्ने रकम र सार्वजनिक निकायले व्यहोर्ने थप खर्च पनि ठेकेदारबाटै असुल गरिने कार्यालयले चेतावनी दिएको छ ।
प्रतिक्रिया