प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सञ्चारसँग सम्बन्धित काम संस्थागत ढङ्गले गर्ने गरी व्यवस्था मिलाएको बताएका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यालय हेटौँडाले पाँच जिल्लाका पत्रकारका लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेकोलागि ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका मल्टिमिडिया तथा मोबाइल जर्नालिज्म तालीम’को आज उद्घाटन गर्दै उनले पत्रकारको क्षमता अभिवृद्धि र हकअधिकारको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए।
मन्त्री जम्कट्टेलले पत्रकारिता क्षेत्रको विकास र उन्नयनका लागि नेपाल पत्रकार महासङ्घ, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)र पत्रकार महिला समूहलगायतसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धका लागि पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
राष्ट्र, जनता र समाजको अहित हुने गरी काम नगर्न पनि उनले आग्रह गरे । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्ट र उपाध्यक्ष यदुनाथ गौतमलगायतले पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले बाम गर्नुपर्ने आवश्यकता औल्याए ।
तालीममा काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका २० पत्रकार सहभागी छन् । आगामी कात्तिक ३० गते तालीम सम्पन्न हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया