लुम्बिनीमा आजबाट साहित्यिक गोष्ठी शुरु

६ बर्ष अगाडि

प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा लुम्बिनीमा राष्ट्रिय साहित्यिक गोष्ठि आजदेखि शुरु भएको छ ।     
     
प्रदेश वाङ्मय प्रतिष्ठानको सहयोगमा आयोजित गोष्ठीको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले समाजलाई सही दिशामा डोर्याउन साहित्यकारहरुको भूमिका महत्वपूर्ण हुने बताए। उनले सरकारले गरेका कामका विषयमा नकारात्मक आलोचना मात्रै हुने गरेकाले यस पछाडिको कारण खोतलेर आम जनमानसमा सही सूचना पुर्याउन साहित्यकारहरुले कलम चलाउनुपर्ने धारणा राखे ।     
     
मन्त्री गिरीले सरकारका राम्रा कामको चर्चा गरी कमीकमजोरी भएका ठाउँमा सही ढङ्गले सुझाव दिन आग्रह गरे । प्रदेशमा पर्यटनको पूर्वाधार तयार गर्ने उद्देश्यले लुम्बिनी भ्रमण वर्ष मनाउन शुरु गरेको बताउँदै उनले प्रचारका हिसाबले लुम्बिनीसँग जोडिएका सबै क्षेत्रमा पुगेर कार्यक्रमहरु आयोजना गरिएको बताए । लुम्बिनी र योसँग जोडिएका सबै क्षेत्रलाई विश्वसामु पस्कन नसके पनि प्रचारको थालनी गरेका छौँ, यसको परिणाम राम्रो आउनेछ, उनले भन्ने ।     
     
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले गौतमबुद्धका वाणीहरुमा कथा, कविता र साहित्य भएकाले बौद्ध साहित्यमा कलम चलाउन साहित्यकारहरुलाई आग्रह गरे । उनले गौतमबुद्ध दर्शनका प्रणेतामात्र नभई साहित्यकारसमेत भएकाले यो विषयलाई बाहिर ल्याउन जरुरी रहेको बताए ।     
     
प्रदेशसभा सदस्य फकरुद्धिन खानले साहित्यलाई लुम्बिनीको पर्यटनसँग जोडेर विकास गर्न जरुरी रहेको बताए । उनले लुम्बिनी आउने पर्यटकलाई यहाँको कला संस्कृति देखाउन सक्ने ठाउँ बनाउन आवश्यक रहेकाले प्रदेश सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।     
     
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले भाषा, कला र साहित्यको जगेर्नाका लागि यस्ता गोष्ठीहरु महत्वपूर्ण हुने बताए। गोष्ठीका संयोजक प्राध्यापक डा गीतु गिरीले भाषा, साहित्य र कला राष्ट्रको ढुकढुकी भएकाले यसलाई विकाससँग जोडेर लैजान जरुरी रहेको बताए । साहित्य हरेक क्षेत्रसँग जोडिएको हुँदा यसको संरक्षण र विकासमा प्रदेश सरकारले तदारुकता देखाउनुपर्ने बताए ।     
     
मन्त्रालयका सचिव डा राधा वाग्लेले साहित्यप्रति धेरैको अभिरुचि हुने भएकाले यसको मार्फत समाजमा सही जानकारी दिन सकिने बताए। प्रदेश वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले प्रदेशमा तत्काल प्रज्ञा–प्रतिष्ठान गठन गर्न माग गरे ।     
     
गोष्ठीमा ‘बौद्ध दर्शन र साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले बौद्ध सङ्गायन, बौद्ध शैक्षिक प्रतिष्ठानहरु, धर्म र सङ्घमार्फत भिक्षुभिक्षुणी, बौद्ध विद्वानहरुले बौद्ध दर्शन र साहित्यको विकासमा योगदान पुर्याएको चर्चा गरे। कार्यपत्रमाथि संस्कृतिविद् राजेन्द्र आचार्य, दिन पन्थी, हरि तिमिल्सिना र दामु मर्सिफुलले टिप्पणी गरेका थिए ।     
     
‘पर्यटन प्रवद्र्धनमा साहित्यको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डाक्टर हिरण्यलाल ज्ञवालीले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव, लोकपरम्परा झल्कने खालको साहित्य सृजना गर्न सकिए पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।     
     
कार्यपत्रमा प्रा डा कपिलदेव लामिछाने, बनमाली निराकार, शारदा पौडेल र विजय सागरले टिप्पणी गरेका थिए ।
     
गोष्ठीमा साहित्यकार टङ्कनाथ ज्ञवालीद्वारा लिखित ‘मेरो देश’ नामक कविता सङ्ग्रह मन्त्री गिरीले विमोचन गरे । दुईदिने गोष्ठीमा नेपालसहित सिक्किमका चर्चित नेपाली भाषी साहित्यकारहरुले आ–आफ्ना सृजना वाचन कार्यक्रम छ ।     
     
गोष्ठीमा साहित्यकारहरु दाङका कमल देवकोटा, प्यूठानका गेहराज थापा, बर्दियाका मणि पन्थी, बाँकेका महानन्द ढकाल, रोल्पाका कविता उपाध्याय, अर्घाखाँचीका डा लक्ष्मी कोपिला र हिम लेकाली, गुल्मीका गोपाल पन्थी, पाल्पाका कृष्णकला भण्डारी र लक्ष्मी ज्ञवाली, नवलपरासीका डा श्याम न्यौपाने र प्रा होमकान्त पाण्डे, रुपन्देहीका विजय सागर, वनमाली निराकार, हिमलाल ज्ञवाली, राजेन्द्र आचार्य, ऋषि आजाद, कपिलवस्तुका राजेन्द्र श्रीवास्तवसहित सिक्किमका साहित्यकार जीविका अश्रु र श्यामानन्द सिंह लगायतका साहित्यकारहरुले आ–आफ्ना सृजना वाचन गर्ने कार्यक्रम छ ।     
     
साहित्यिक गोष्ठीको दोस्रो दिन साहित्यकारहरु कपिलवस्तुको कुदान क्षेत्रको अवलोकन गरी पूर्णिमा उत्सवमा सहभागी हुने कार्यक्रम छ । भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कंदा पिता शुद्धोधनलाई पहिलो पटक भेटेको स्थान कुदान अर्थात् निग्रोधराममा मङ्गलबार साँझ पर्यटन मन्त्रालयले पूर्णिमा उत्सवको आयोजना गरेको छ ।     
   

६ बर्ष अगाडि

प्रतिक्रिया