बम बिस्फोटमा घाईते भई ईटाभट्टामा जलाईएको भनिएका ओसी अख्तर नमारिएको बरु वैदेशिक रोजगारमा गएर नफर्केको भन्दै निवेदन दिन उनकी पत्नि अमना खातुन अदालत पुगेकी छन ।
२०६४ साल चैत २७ गते रौतहटको राजपुर फरहदवा गाविस वडा नम्बर ४ मा रहेको तत्कालिन नेपाली काँग्रेसका उम्मेदवार मोहम्मद अफताव आलमको घरमा बम विष्फोटन भएको थियो ।
ओसी अख्तर र त्रिलोक सिंह बम बिष्फोटमा घाइते भएपछि जिउँदै इँटाभट्टामा हालेको अनुसन्धानबाट देखिएको भन्दै सरकारी वकिल कार्यालयले आलमविरूद्ध गत साता मुद्दा दायर गरेको थियो।
आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छोड्ने वा तारेखमा छोड्ने भन्नेबारे रौतहट जिल्ला अदालतमा बहस भईरहदा मृतक भनिएका मध्ये ओसी अख्तर जिउँदै रहेको निवेदन परेको रौतहट अदालत स्रोतले बताएको छ।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको मुद्दामा थुनछेक बहस हुँदै छ।
आलमका विरूद्ध जाहेरी दिने परिवार, साक्षी लगायतलाई उनका मानिसहरूले डरधम्की र प्रलोभन देखाउन सुरू गरेको स्रोतले बताएको छ।
प्रतिक्रिया