काठमाडौं । नेपाललाई हिन्दुराष्ट्रको रुपमा पुनस्र्थापित गर्ने उद्धेश्य प्राप्तिका लागि सशक्त जनमत र जनदवाव सिर्जना गर्ने अभिप्रायले राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी साउन २ गते काठमाडौंबाट शुभारम्भ गर्ने ‘हिन्दु राष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियान’ कार्यक्रमको तयारीबारे आज पार्टी केन्द्रीय कार्यालयमा बैठक सम्पन्न भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्षहरु, उपत्यकाका क्षेत्रीय अध्यक्षहरु, स्थानीय तहका अध्यक्षहरु तथा भातृ संगठनका पदाधिकारीहरु सम्मिलित बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले पार्टीको हालै विरगञ्जमा सम्पन्न केन्द्रीय परिषद बैठकले गरेका निर्णयलाई कार्यान्वयन गराउन साउन २ गते काठमाडौंमा शुभारम्भ हुने ‘हिन्दु राष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियान’ लाई भव्यताका साथ सफल पार्न सबैलाई आजै देखि क्रियाशिल हुन निर्देशन दिनुभयो । एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा पार्टीका एजेण्डा समाप्त भएको ठान्न नहुने भन्दै अध्यक्ष थापाले उत्साहका साथ संगठन निर्माणमा लागेर आगामी निर्वाचनमा पार्टीका एजेण्डालाई जनताबाट अनुमोदन गर्नतर्फ सक्रिय रहन उहाँले अगुवा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
बैठकमा काठमाडौंका जिल्ला अध्यक्ष नवराज सिंखडा, ललितपुरका का.वा. अध्यक्ष अष्ट महर्जन, भक्तपुरका जिल्ला सचिब मुकुन्द कार्की, राप्र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, राप्रविसंका अध्यक्ष महेश बहादुर सिंह, राप्रमसंका महासचिब सरश्वती के.सी. अधिकारी, उत्पिडित उत्थान संगठनका केन्द्रीय सदस्य सरला वि.क. लगायतले साउन २ गते काठमाडौंमा शुभारम्भ हुने ‘हिन्दु राष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियान’मा आ–आफ्नो क्षेत्रबाट अधिकतम सहभागिता जुटाउने बताउनुभएको थियो ।
प्रदेश नं. ३ का अध्यक्ष बिक्रम बहादुर थापाको अध्यक्षतामा सम्पन्न सो बैठकमा पार्टीका आगामी कार्यक्रमहरुको बारेमा सचिबालय प्रमुख भाष्कर भद्राले प्रष्ट्याउनुभएको थियो ।
सो अवसरमा राप्रपामा प्रवेश गर्नुभएकी सिन्धुपाल्चोककी सशक्त महिला नेतृ राधा भण्डारीलाई पार्टी अध्यक्ष कमल थापाले स्वागत गर्नुभएको थियो । भण्डारी यसअघि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भई राजनीतिमा सत्रिय हुनुहुन्थ्यो ।
प्रतिक्रिया