स्वर्गीय रविन्द्र अधिकारीको जन्म ठाउँबाट विद्याको निर्वाचन अभियान

६ बर्ष अगाडि

कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभाका उम्मेदवार विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्व.मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका ३३ भरतपोखरीबाट शुरू गर्ने भएकी छन् । 

अधिकारीको निधनपछि सो क्षेत्रबाट मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनेकी अधिकारीकी पत्नी विद्याले आफ्ना पतिको जन्मस्थलबाट निर्वाचन अभियान शुरु गर्ने घोषणा गरेकी हुन् ।   

अधिकारीले आफ्नो जीवनको बाल्यकाल विताएको र राजनीतिक जीवनको शुरूवात गरेको सो स्थानका स्थानीयबासी सँग अन्तरक्रिया र भेटघाट गरेर चुनावी अभियान शुरू गर्न लागेको नेकपा कास्कीका निर्वाचन व्यवस्थापन समिति संयोजक धनराज आचार्यले बताए । 

विगतका तीनवटा निर्वाचनमा लगातार सो क्षेत्रबाट बिजयी रविन्द्र राजनीतिक रूपमा अब्बल नेताको पहिचान बनाएका थिए । 

उक्त स्थानलाई आफ्नो पनि राजनीतिको प्रेरणापुञ्ज भएको भन्दै विद्याले सोही क्षेत्रबाट निर्वाचन अभियान शुरू गर्न चाहेको आचार्यको भनाइ छ । 

सो क्षेत्रबाट आशिर्वाद ग्रहण लगतै शहीदहरूको शालिकमा माल्यार्पण गरी कार्तिक २१ गते उम्मेदवारी दर्ता गर्न जाने कार्यक्रम रहेको छ ।

पर्यटनमन्त्री रहेका रविन्द्र अधिकारीले हेलिकप्टर दुर्घटना परी निधन भएपछि पार्टीले उक्त क्षेत्रमा विद्यालाई उम्मेदवारको रूपमा अघि सारेको हो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया