अनुदानमा बीउ वितरण

६ बर्ष अगाडि

उत्पादन बढाइ किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य लिई माटो जाँच गरेको भेरी नगरपालिकाले गहुँको मूल बीउ वितरण गरेको छ ।
जिल्लामा माटो सुहाउँदो बीउ नरोप्दा वर्षेनी उत्पादन घटिरहेको समयमा भेरी नगरपालिकाको यो कदमबाट किसान खुशी भएका छन् । २६ जना किसानलाई बीउ उत्पादन गर्न मूल बीउ वितरण गरिएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए।     
     
भेरी नगरपालिका –१ कालेगाउँको त्रिवेणी किसान समूहमार्फत मूल बीउ वितरण गरिएको हो । नगरप्रमुख घर्तीले भन्ने, ठिमाह बीउबाट उत्पादनमा गिरावट आएपछि जिल्लाभर बीउ सहजरुपमा उपलब्ध होस् भनि यो कार्यको थालनी गरिएको छ । पक्कै पनि किसान दाजुभाइ ,दिदीबहिनीले यसको फाइदा उठाने छन्। ६ क्किनटल गहुँ मूल बीउ वितरण गरी पहिलो चरणमा सिकाइ गरिने छ । ७५ प्रतिशत अनुदानमा बीउ उपलब्ध भएकोले खुशी भएको समूहका सचिव दलबहादुर खत्रीले बताए।

पाँच हेक्टर जमीनमा लगाएर बीउ उत्पादन गरिने खत्रीले बताए । त्यस्तै नगरपालिकाले हाईब्रिड (वर्णशङ्कर जात) तरकारी बीउ वितरण गरेको छ । नगरपालिकाले ईश्वर, काँसतारा, मटेला, कालेगाउँ, पिपे, बुहुँनथानालगायतका ठाउँमा व्यावसायिक रुपमा तरकारीखेती गरेका किसानलाई हाईब्रिड जातको काउली, बन्दा र गोलभेडाको बीउ वितरण गरेको भेरी नगरपालिका कृषि शाखाका भोला खत्रीले जानकारी दिए।

त्यस्तै करेसाबारीमा मात्र तरकारी लगाउँदै आएका किसानका लागि उन्नत जातको काउली, बन्दा, गोलभेडा बीउ निःशुल्क वितरण गरिएको खत्रीको भनाइ छ । हाईब्रिड बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ ।     
   
 

६ बर्ष अगाडि

प्रतिक्रिया