काठमाडौं– गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले विहिबार लामालाई काठमाडौंबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीको ‘क’ बर्गको सुचिमा रहेका दावा लामाको ‘मुन्सी’को रुपमा काम गर्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् ।
पछिल्लो समय प्रहरीले आफुलाई उच्च निगरानीमा राखेको सुचना पाएसँगै गुण्डानाईके दावा लामाले काठमाडौं छाडेका छन् । दावा काठमाडौं छाडेर भारतको सिक्कीममा लुकेर बस्न थालेपछी उनको कारोबार सत्यमानले सम्हाल्दै आएको बताईएको छ ।
काभ्रे र रामेछापमा पाईने बुद्धचित्त मालाको तस्करीमा संलग्न सत्यमानले गतबर्ष काभ्रेको सिपालीका किसानको माला लुटेका थिए । यसअघी रक्तचन्दन तस्करीमा प्रहरीले उनलाई पक्राउ गरेर कारावाही गरेको थियो ।
उनी बिरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धाकधम्कि दिएर लुटपाट गरेको उजुरी समेत परेको काठमाडौं प्रहरीले जनाएको छ ।
‘गुण्डगर्दीमा संलग्न रहेको खुलेपछी पक्राउ गरेका हौं’ काठमाडौंका एसएसपी पोखरेलले भने, ‘उनिबारे थप अनुसन्धान हुँदै छ ।’
प्रतिक्रिया