बाँके सुगम जिल्लाका रुपमा चिनिन्छ तर,धेरैलाई थाहा छैन सुगम जिल्लाभित्रको पीडा । यस जिल्लाका कतिपय दुर्गम र पिछडिएको क्षेत्र अहिले पनि अभावसँग जुझिरहेका छन् । सबै हिसाबले सुगम मानिने बाँकेभित्रकै राप्तीपारि बघौडाको कथा र वेदना भने निकै फरक छ ।
वर्षात्मा बाढीको पीडा,हिउँदमा शीतलहरले सास्ती भोग्छ,राप्तीपारिका बासिन्दा । बल्लतल्ल हुलाकी सडकले जोड्यो,सदरमुकामसँगको दूरी केही नजीक भयो तर,शिक्षा र स्वास्थ्यको अवस्था जस्ताको तेस्तै छ । दुई वर्षअघिसम्म भारतीय बजारमै कारोबार गर्ने राप्तीपारि बघौडा क्षेत्रका नागरिकहरु बल्लतल्ल नेपाली बजारसँग जोडिएका छन् ।
केही वर्ष अघिसम्म नेपाली रुपैयाँ नचल्ने राप्तीपारिका गाउँहरुमा अहिले नेपालीमै कारोबार हुन्छ । बघौडावासीले यसलाई सङ्घीयताको उपलब्धि मानेका छन् । सङ्घीयतापछि गाउँमा बैंक पुगेसँगै नेपाली रुपैयाँमै कारोबार हुन थालेको हो । चुनाव भयो,गाउँलेले प्रधान चुने,विकास आउँदैछ,नरैनापुर–३,बाबुगाउँका स्थानीयवासी रामकिसुन यादवले भन्ने।
चुनावपछि नै गाउँमा नेपाली रुपैयाँमा कारोबार हुन थालेको हो । हरेक दृष्टिकोणले पछाडि परेको बगौडा क्षेत्रको विकासका लागि सङ्घीयता आउनुअघि बजेट नगएको पनि हैन तर,बजेटमा टाठाबाठाकै मात्र हालीमुहाली हुने गथ्र्यो । जनताको सेवा गर्न खटिएका राष्ट्रसेवकले समेत विकासका नाममा ठग्न थालेपछि बघौडावासी झन् समस्यामा परे ।
विसं २०६८ भदौ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको लक्ष्मणपुर स्वास्थ्य चौकी ७ वर्षसम्म अलपत्र रह्यो । स्थानीय निर्वाचनपछि जनप्रतिनिधिहरुको सक्रियताका कारण आठ वर्षपछि भवन निर्माण सम्पन्न भयो ।
नरैनापुर गाउँपालिका–२ स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कर्मचारी अभावका कारण अहिले पनि नरैनापुरवासी प्रभावकारी स्वास्थ्य उपचारबाट वञ्चित छन् । गाउँपालिकाभित्रकै सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रका रुपमा रहेको यो केन्द्रलाई १५ शय्याको अस्पताल बनाउने योजना स्वीकृत भएर नामकरण समेत भइसकेको छ तर यहाँ सामान्य स्वास्थ्य चौकीले दिने जस्ता सेवा मात्रै उपलब्ध छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र हुँदा १३ जनाको दरबन्दी भएकामा हाल ८ जना स्वास्थ्यकर्मी मात्र यहाँ छन् । एमबिबिएस डाक्टरको समेत दरबन्दी रहेको स्वास्थ्य केन्द्रमा यहाँका स्थानीय बासिन्दाले डाक्टरको अनुहार हेर्न पाउँदैनन् । स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको २५ वर्षसम्म पनि यहाँ डाक्टर बसेको देखेका छैनौं,स्थानीय बासिन्दा भन्छन् । कुनै पनि एमबिबिएस डाक्टर दुई महीनाभन्दा बढी बसेको उदाहरण नै छैन ।
स्वास्थ्य केन्द्रमा एक एमबिबिएस डाक्टर,एक एचए।सिअहेब,एक स्टाफ नर्स,तीन अहेब,तीन अनमी,एक ल्याब असिस्टेन्ट र एक कार्यालय सहयोगीको दरबन्दी भए पनि हाल एक सिअहेब,एक स्टाफ नर्स,दुई अहेब,तीन अनमी र एक कार्यालय सहयोगी कार्यरत रहेको स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज मो। तयव रायनले जानकारी दिए ।
स्वास्थ्य केन्द्रका इन्चार्ज एचए मोइन खाँले लामो समयदेखि गाउँपालिकामा स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हालिरहेका छन् । एमबिबिएस डाक्टरको व्यवस्था भएको स्वास्थ्य केन्द्र तल्लो तहका कर्मचारीको भरमा चल्दै आएको छ । स्वास्थ्य केन्द्रमा अन्य स्वास्थ्यकर्मी पनि कमै बस्ने गरेको नागरिकहरुको गुनासो छ ।
उपचारका लागि केन्द्रमा जाँदा डाक्टर नभएर फर्किनुपर्ने बाध्यता रहेको लक्ष्मणपुरका स्थानीय बासिन्दाको गुनासो छ । अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी नै हुँनुहुदैन् कर्मचारी भइहाले पनि औषधि नपाएर फर्किनुपर्छ,हामी उपचार गर्न जाने अरु ठाउँ छैन,लक्ष्मणपुरका स्थानीय कमदिन खाँले भने।
कोही बिरामी भइहाले पनि उपचार गर्नकै लागि केन्द्रमा स्वास्थ्यकर्मी भेट्टाउन मुश्किल हुने गरेको खाँले बताए । नेपालगञ्ज लैजान यातायातको सुविधा छैन,गाउँंमै छट्पटाउनु पर्ने अवस्था छ,खाँले गुनासो पोख्दै भन्ने । गाउंँमा बस्ने व्यवस्था राम्रो नभएको बहानामा स्वास्थ्यकर्मीहरु अन्यत्र गइदिँदा नरैनापुरवासी स्वास्थ्य उपचारबाट वञ्चित छन् ।
लामो समयदेखि समायोजन प्रक्रियामा रहेको स्वास्थ्य क्षेत्रका कर्मचारीको समायोजन टुङ्गिसकेको छैन । बाँकेका स्थानीय तहमा पनि स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजनको कामले पूर्णता पाउन सकेको छैन । जिल्लाका केही स्थानीय तहले समायोजन भएर आएका स्वास्थ्यका कर्मचारीको पदस्थापना गरी काममा खटाइसकेका छन् भने केही तहमा समायोजन टाउको दुखाइको विषय बनेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा आवश्यकताभन्दा बढी कर्मचारी आउँदा पदस्थापन हुन नसकेर कर्मचारीले हाजिरसमेत गर्न पाएका छैनन् । बाँकेको दुर्गम क्षेत्रको रुपमा रहेको नरैनापुर गाउँपालिकाको अवस्था भने अझ दयनीय छ । नरैनापुरमा आवश्यक कर्मचारी नै नहुँदा स्वास्थ्य संस्थाहरु कर्मचारीविहीन बनेका छन् । सबैले सुगम क्षेत्र खोज्ने भएकै कारण सुगममा आवश्यकताभन्दा बढी कर्मचारी छन् । दुर्गममा कर्मचारी जान नमानेका कारण अभावको स्थिति सिर्जना भएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलको भनाइ छ ।
नरैनापुरमा अहेव चौथो र अनमी चौथो तहको दरबन्दी अनुसार भने समायोजन भएर आएका कर्मचारीहरुको पदस्थापना भई व्यवस्थापन भइसकेको छ । गाउँपालिका अन्तर्गत रहेका छ वटा स्वास्थ्य संस्थामध्ये गंगापुर स्वास्थ्य चौकीबाहेक अन्य पाँच वटा स्वास्थ्य संस्था अहिले पनि कर्मचारीविहीन जस्तै छन् ।
नरैनापुरमा सिअहेब।हेअ छैटौं र सिअहेब।हेअ पाँचौ तहका कर्मचारी नै आइनपुग्दा गंगापुर बाहेक सबै स्वास्थ्य संस्थाहरु तल्लोस्तरका केही कर्मचारीको भरमा चलिरहेका छन् । पालिकामा समायोजन भएर आउनुपर्ने सिअहेब।हेअ छैटौं र पाँचौं तहका कर्मचारी आइनपुगेको कारण स्वास्थ्य संस्थाहरुमा कर्मचारी पठाउन नसकिएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोइन खाँले बताए।
नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखामा ३६ जनाको स्वीकृत दरबन्दी रहेकामा १२ जना कर्मचारी अपुग छन् । अपुग कर्मचारी सबै पाँचौ र तथा छैठौं तहका कर्मचारी रहेको र कतिपय कर्मचारी गाउँपालिकाको सम्पर्कमा भने आइसकेको स्वास्थ्य संयोजक खाँको भनाइ छ ।
ती स्वास्थ्य चौकीमा कार्यरत धेरै स्वास्थ्यकर्मीहरु समायोजन भएर गइसकेका छन् भने बाहिरबाट आउनुपर्ने कर्मचारी आएका छैनन् । पालिका अन्तर्गतको कटकुँइया,कालाफाँटा,नरैनापुर र मटेहिया स्वास्थ्य संस्थामा दुई।दुई जना पाँचौ तहको दरबन्दी रहेकामा त्यहाँ पाँचौं तहका कर्मचारी छैनन् । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस डाक्टरको दरबन्दी खाली छ ।
मटेहियामा एक जना पाँचौ वा छैठौ तहको अनमीको दरबन्दी खाली रहेको स्वास्थ्य संयोजक खाँले बताए । गाउँपालिकाको वडा नं ४ का इरसाद अलि साइले भने,आधारभूत स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्ने संविधानमै भनिएको छ तर, स्थानीय तहका स्वास्थ्य संस्था कर्मचारीविहीन छन् । कसरी पाउने आधारभूत स्वास्थ्य सेवा जिल्लाका अन्य स्थानीय तहमा आवश्यकताभन्दा बढी कर्मचारी छन् भने नरैनापुरमा अपुग छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै आवश्यकता र दरबन्दीको अवस्था नहेरी कर्मचारीले माग गरेबमोजिम समायोजन गरिदिँदा स्वास्थ्य सेवा प्रवाहमै समस्या आएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको भनाइ छ ।
प्रतिक्रिया