नेपाल राष्ट्रबैंकले निजी आवास निर्माणमा प्रोत्साहन गर्नका लागि घर किन्न चाहनलेलाई धितोको ७० प्रतिशतसम्म कर्जा दिने भएको छ ।
शुक्रबार जारी गरेका एकीकृत निर्देशिका ०७६ मार्फत आवासीय प्रयोजनका लागि घर तथा अपार्टमेण्ट खरिदमा धितोको ७० प्रतिशत ऋण दिने व्यवस्था गरेको हो ।
यसअघि घरजग्गा खरिदमा पनि बढिमा धितोको ५० प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था थियो ।
नयाँ नीति अनुसार पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई १ करोड ५० लाख रुपैयाँसम्मको आवासीय घर कर्जामा बढीमा ७० प्रतिशतसम्म प्रवाह गर्न सकिने व्यवस्था गरिएको हो ।
यस्तो कर्जा प्राप्त गर्न खरिद गरिने घर आवासीय हुनुपर्ने, घरको मूल्य बढीमा १ करोड ५० लाखसम्मको हुनुपर्ने, अपार्टमेन्टको क्षेत्रफल बढीमा ३ हजार वर्गफिटसम्मको हुनुपर्ने, कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट यसअघि घर÷अपार्टमेन्ट निर्माण वा खरिद कर्जा नलिएको यकिन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
घर खरिद गर्नेले खरिद गरेपछि आउने घरभाडालाई ऋणीको आम्दानीको स्रोतको रूपमा देखाउन नपाइने व्यवस्था छ ।
राष्ट्रबैंकका अनुसार बैंकमा कर्जाको ब्याजदर वृद्धि भएपनि पूर्व निर्धारित मासिक किस्ता वृद्धि नगरी कर्जा भुक्तान गर्न पाइने छ । त्यसका लागि व्यवस्था मिलाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
नयाँ व्यवस्था अनुसार घरकर्जा दिने बैंकले ऋणको अवधिभर एउटै ब्याजदर दर (स्थिर ब्याजदर) तोक्न पाउने छन् ।
‘यस्तो स्थिर ब्याजदर तोकिएको अवधिभर परिवर्तन गर्न पाइने छैन ’, निर्देशनमा भनिएको छ ।
प्रतिक्रिया