वैदिक गाई जोगाउन महायज्ञ

६ बर्ष अगाडि

सङ्कटोन्मुख स्थानीय वैदिक गाईको संरक्षणका लागि पर्वत, जलजला गाउँपालिका–७ मिलनचोकमा ‘श्रीगण्डकी गोपाल गोरक्षा धनधाञ्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव’ गरिने भएको छ । धाइरिङस्थित गण्डकी गोपाल गौशालाको आयोजना, गाउँपालिका र कुश्मा नगरपालिकाको संयोजनमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ ।

वैदिक गाईको रक्षाका साथै पौराणिक महत्वको कालञ्जर क्षेत्रको महिमा उजागर, स्थानीय गोवंशको संरक्षण, यज्ञशाला, योगशाला, गुरुकूललगायतका संरचना निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । स्थानीय जातका गाईको संरक्षणका लागि पाँच वर्षअघि धाइरिङमा गण्डकी गोपाल गौशाला निर्माण गरिएको थियो ।

गौशालामा अहिले ३६ वैदिक गाई छन् । “गौशालामा थप संरचना निर्माण र क्षमता विस्तारको योजना छ”, अध्यक्ष आचार्यले भने, “महायज्ञबाट गौशालाको चुस्त र सुदृढ व्यवस्थापनमा सहयोग पुग्ने विश्वास छ ।” धार्मिक महत्वका गाईको संरक्षण र व्यावसायीकरणलाई एकसाथ अघि बढाउने योजना व्यवस्थापन पक्षको छ ।

गाईको दूध, गहुँत र मललाई आम्दानीको स्रोतका रुपमा विकास गरिने समितिका महासचिव जगन्नाथ आचार्यले बताउनुभयो । “गहुँत औषधिमा समेत प्रयोग गर्न मिल्ने वैज्ञानिकले प्रमाणित गरेका छन्, धार्मिकरुपमा पनि यसको उत्तिकै महत्व छ”, उनले भने । गाईको गोबरलाई प्रशोधन गरेर अगरबत्ती, साबुनजस्ता सामग्री पनि बनाउन सकिने आचार्यको भनाइ छ  ।

धाइरिङको भूमेस्थान प्राचीनकालमै गौचरनका रुपमा प्रसिद्ध थियो । अहिले पनि बुढापाकाले उक्त ठाउँलाई ‘गोकुल पाखो’ भनेर चिन्छन् । धर्म, संस्कारका हिसाबलेसमेत महत्वपूर्ण मानिने गाई लोप हुने खतरा बढेपछि स्वामी कमलनयनाचार्यको सङ्कल्पमा गौशाला निर्माण गरिएको थियो । दूधका लागि उन्नत जातका गाई पाल्ने चलन आएपछि स्थानीय जात हराउन थालेका छन् । महायज्ञबाट रु पाँच करोड बढी अर्थ सङ्कलन गर्ने लक्ष्य लिइएको अध्यक्ष आचार्यले बताए । 

प्रचारप्रसार र पूर्वाधार तयारीको कामलाई अघि बढाइएको उनले जानकारी दिए । रु पाँच हजार ५५५ भन्दामाथि सहयोग गर्ने दातालाई मूल आयोजक समितिको सदस्यमा राखिने व्यवस्था गरिएको छ । हालसम्म ४०० बढी मूल आयोजक समितिका सदस्य बनिसकेका जनाइएको छ । महायज्ञमा स्वामी कमलनयनाचार्यबाट दिव्योपदेश र युवा पण्डित सुदर्शन बरालबाट सङ्गीतमय भागवत कथा प्रवचन हुनेछ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया