काठमाडौं– सरकारले गरेका स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि गरेको धर्नाबाट प्रहरीले २५ जना शान्तिवादीहरुलाई गिरफ्तार गरेको छ ।
मंगलबार दिउँसो १ बजे धर्ना सुरु हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेललगायतलाई गिरफ्तार गरेको शान्ति समाजले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरवार लगिएको छ ।
धर्नामा स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया