नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ ।
बैतडी,दार्चुला,डडेल्धुरा,डोटीलगायतका जिल्लामा कार्तिक शुक्ल पक्षको शुरुआत भएसँगै जात्राको रौनक शुरु भएको हो । कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । केही शक्तिपीठमा बलिसहित पूजाआजा हुने गरेको छ ।
कात्तिक शुक्ल पक्ष शुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर,बाह्र ज्योर्तिलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर,मेलौली भगवती मन्दिर,सुर्नयास्थित भवानी मन्दिर,शिवनाथ मन्दिर,महारुद्र मन्दिर,पुचौर्डीस्थित त्रिवणीधाम (दोगडाकेदारमा) अवस्थित भिटाकेदार मन्दिरमा जात्रा लाग्ने गर्दछ
दार्चुलामा रहेको देशकै सातौँ धामको रुपमा रहेको मालिकार्जुन धाम,लटिनाथ,बन्तोली,मड,जयपुरलगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ । डडेल्धुराको उग्रतारा र भागेश्वरलगायतका मन्दिरमा कात्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ ।
त्रिपुरासुन्दरी भगवती मन्दिर,रौलाकेदार,शिवनाथ,महारुद्रलगायतका मन्दिरमा कात्तिक शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्दछ भने मेलौली भगवती,भवानी मन्दिर,उग्रतारालगायतका मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कात्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ ।
डोटीको शैलेश्वरी मन्दिरमा पनि पूर्णिमाको दिन भव्य जात्रा लाग्दछ । परापूर्वकालदेखि नै कात्तिक शुक्ल पक्षमा देवीदेवताको पूजाआजा गर्ने चलन रहिआएको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । शरद ऋतु देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडका विभिन्न जिल्लाका शक्तिपीठमा जात्रा लाग्ने गरेको आचार्य घनश्यामको भनाइ छ ।
यो समयमा लाग्ने जात्रामा टाढाटाढाका श्रद्धालुसमेत आउने गरेको गङ्गासागर जोशीले बताए । भाइटीकाको दिनदेखि शुरु भई करीब १५ दिनसम्म विभिन्न ठाउँमा रहेका देवस्थलमा लाग्ने जात्राको ऐतिहासिक एवं धार्मिक महत्वका साथै आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रुपमा लिने गरिन्छ ।
देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रिको बेला मन्दिरमा पूजाआजा हुने भए पनि कात्तिक शुक्ल पक्षमा समेत धेरै जात्रा तथा मेला हुने गरेका छन् । स्थानीय भाषामा गुटे नवरात्र भनेर कात्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिए ।
जिल्लामा रहेका विभिन्न मन्दिरमा रात्रि जात्रा शुरु भएसँगै जिल्लाका ग्रामीण बस्ती बाजाले गुन्जिएका छन् । सबै उमेर समूहका मानिसले विभिन्न तरिकाले दमाहा बजाउँदै नाच्ने गर्दछन् तर पछिल्लो समय जात्रामा विकृतिसमेत भित्रिएका छन् । यस्ता जात्राले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया