उपत्यकाकै स्थानीय तह : दिउँसै ताला ठोकेर टाप

६ बर्ष अगाडि

काठमाडौं उपत्यकाभित्रै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले कार्यालयमा दिउँसै ताला लगाएर जनतालाई दुःख दिने गरेको घटना सार्वजनिक भएको छ । 

ललितपुर महानगरपालिका वडा नं. १८ भैसेपाटीका जनप्रतिनिधि र कर्मचारी दिउँसै कार्यालय बन्द गरेर हिँड्ने गरेको घटना सार्वजनिक भएको हो । 

दिउँसो सवा ३ बजे नै कार्यालयको ढोकामा ताला लगाएर जनप्रतिनिधि, वडासचिव र अन्य कर्मचारी समेत हिँडेको नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायले बताए । 

मालपोत तिर्नका लागि वडा कार्यालय पुग्दा कोही नभेटिएको र केहीबेरपछि आइपुगेकी कार्यालय सहयोगीले सबैजना कामले बाहिर गएको जवाफ दिएको उनले बताए । 

सिंहदरबारको नाराका साथ स्थापना भएका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले उल्टै जनतालाई दुःख दिने गरेपनि उनले आक्रोश पोखेका छन् । 

‘५÷५ जना जनप्रतिनिधि र कर्मचारीहरू तलबभत्ता र सुविधा हसुर्न तछाडमछाड गर्छन्, तर जनताको सेवा मतलब हुदैन’, पूर्वसचिव उपाध्यायले भनेका छन् ‘गाउगाउँमा सिंह र सिंहदरवार यसरी पुगेको छ र सिंहदरबारमा गाउँको फ्याउरो पुगेको छ।’

वडाअध्यक्ष पुरुषोत्तम खड्काले भने आफू कार्यक्रममा र सचिव फिल्डमा गएको भन्दै बचाउ गरे ।

‘म तीनबजे एउटा बैंकमा गएँ । हाम्रो सचिब चाहिँ फिल्डमा जानुभएको थियो’ उनले भने, ‘हामीले अरु कामहरु व्यवस्थित गरेका थियौँ, तर उहाँ आएर एकैछिन हेरेर मात्र मिडियामा ल्याउनु भएछ ।’ 

सो कार्यालयमा वडा सचिव, कम्युटर अपरेटर र कार्यालय सहयोगी गरी तीनजना कर्मचारी रहेपनि राजश्व बुझ्ने काम भने सचिवले मात्र गर्दै आएका छन् । 

सचिव फिल्डमा हिँड्दा समस्या हुँदैन भन्ने विषयमा वडाध्यक्ष खड्काले आफूहरु समय मिलाएर हिँड्ने गरेको बताए । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया