हिंसा प्रभावितको सहायतामा स्वयंसेवी

६ बर्ष अगाडि

काभ्रेपलाञ्चोककी उषा घिसिङले महानगरीय प्रहरी परिसर ललितपुरमा हिंसा प्रभावितहरुका लागि कानूनी सहायतासम्बन्धी एकवर्षे स्वयंसेवी कोर्ष सके । 

एक वर्षको अनुभव उहाँको जीवनकै लागि महत्वपूर्ण रह्यो । विभिन्न घटनामा परेका महिलाहरु प्रहरीमा आएपछि कानूनी सेवा दिनु उहाँको काम हो । शुरुमा आफ्नो समस्या नभन्ने प्रभावितहरु परामर्श दिँदै गएपछि खुल्ने गर्छन् । घिसिङले अनुभव सुनाउँदै भने, “शुरुमा प्रभावितहरु प्रहरीदेखि नै डराउँछन्, प्रहरीसँग मनको कुरा खोल्दैनन् विस्तारै मायाले सम्झाउनुपर्छ, उनीहरु खुल्छन् ।” शुरुमा प्रहरी भन्ठानेर स्वयंसेवीसँग नखुल्ने महिलाहरु हामी प्रहरी होइन भनेपछि सजिलो गरी भित्री कुरा भन्ने गरेको उहाँको बताए । 
    
एक वर्षको अवधिमा घरेलु हिंसा र साइवर अपराधसम्बन्धीका धेरै घटनाका प्रभावितलाई उहाँले कानूनी सहायता दिए । कानूनी परामर्शदेखि उजुरी दर्ताका हरेक प्रक्रियामा सहयोग पाउँदा प्रभावितहरु खुशी हुने गरेको उहाँले अनुभव सुनाए । उनीहरु डराएर आउने गरेकाले माया दिएर सम्झाउनुपर्ने स्वयंसेवीहरुको भनाइ छ ।

एक वर्ष परिचालन भएका स्वयंसेवीहरु फर्किएपछि आजबाट पुनः अर्को समूह प्रहरी कार्यालयमा परिचालन भएका छन् । सामाजिक सेवा औधी मन पर्ने इशा ढकाल पनि अहिले प्रभावितहरुको सहायतामा आइतबारदेखि जुट्दै छन् । आज मात्रै उहाँले प्रहरीसँग अभिमुखीकरण तालीम लिए । “सामाजिक सेवा मन पर्छ, त्यसमाथि प्रभावितहरुलाई सेवा गर्न पाउनु झन् महत्वपूर्ण हो, त्यसैले स्वयंसेवी भएर आएको”, इशाले रासससँग संक्षिप्त प्रतिक्रिया दिँदै भने । 

उपत्यकामा यसरी ३० जना स्वयंसेवीहरुले प्रभावितलाई सेवा दिन थालेका छन् । अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सहज हुने भएकाले प्रहरीले यसरी समुदायलाई सहभागी गराउन थालेको हो । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश थापा यसरी सहभागी हुँदै समुदायले प्रहरीको कामबारे जानकारी पाउने र प्रहरीले पनि समुदायबाट धेरै ज्ञान हासिल गर्ने भएकाले आपसी सहयोग आदानप्रदान हुने बताएका छन् । 

उपत्यकामा हिंसाबाट प्रभावित महिला तथा बालबालिकालाई न्यायमा पहुँच बढाउन महिला स्वयंसेवीद्वारा कानूनी सहायता कार्यक्रम थालिएको हो । हिंसा प्रभावितहरु प्रहरीसँग भन्दा सामान्य नागरिकसँग बढी खुल्ने र आफ्ना कुरा भन्न सहज महसुस गर्ने भएकाले पनि स्वयंसेवी परिचालन प्रभावकारी हुने महानगरीय प्रहरी परिसर काठमाडौँको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम हेर्दै आउनुभएका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए । “अपराध नियन्त्रणमा समुदायको सहभागिता महत्वपूर्ण हुन्छ, त्यसैले महिला स्वयंसेवीहरुद्वारा प्रभावितहरुको गुनासो सुन्न थालिएको हो”, पोखरेलले भने ।

आज मात्रै ३० जना स्वयंसेवीहरुलाई उपत्यकाको १५ वटा महानगरीय प्रहरी वृत्तमा खटाउने गरी सम्झौता भएको उहाँले जानकारी दिनुभयो । उनीहरुले हिंसामा परेकालाई परामर्श दिनेदेखि कानूनी सहायता गर्ने र उजुरी दर्ता गर्नेसम्मको काम गर्नेछन् । काठमाडैँको १३ र भक्तपुर ललितपुरको एक–एक गरी १५ वटा वृत्तमा खटाएका स्वयंसेवीहरुलाई संरक्षक समूह नेपालले तालीम दिएको हो । 

उक्त संस्थाका निर्देशक श्याम पोखरेलले हिंसा प्रभावितहरुलाई प्रशिक्षण दिएर योग्य बनाई यसरी स्वयंसेवीका रूपमा खटाउने गरिएको जानकारी दिनुभयो । उनीहरुले एक वर्ष प्रहरी कार्यालयमा बसेर कानूनी परामर्श दिनेछन् । त्यसपछि अन्य क्षेत्रमा लेखापढीसम्बधीको काममा खटाइने छ । यसरी खटिने महिला अहिले ३७१ जना रहेको निर्देशक थापाले बताए ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया