नगरको सरसफाईका लागि देउसीभैलो खेलेर रकम जुटाउने अभियानमा बर्दिवासबासी लागेका छन् ।
बर्दिवास सरसफाइ तथा फोहरमैला व्यवस्थापन समितिको आयोजनमा सरसफाइसम्बन्धी देउसीभैलो’ कार्यक्रम गरिएको हो ।
समितिले सोमबार एकै दिनमा रु एक लाख ५० हजारभन्दा बढी सङ्कलन गरेको छ । सङ्कलित रकम बर्दिवासको सरसफाइ अभियानमा खर्चिने भएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकार तथा राजनीतिक दलका नेता एवं जनप्रतिनिधिले देउसीभैलोलाई सरसफाइ अभियानसँग जोड्दै ऐक्यबद्धता जनाउनाका साथै बर्दिवासको सरसफाइ अभियान सबैको साझा बनेको बताएका थिए । त्यस अबसरमा कलाकारहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
स्थानीय सरसफाइ तथा फोहरमैला व्यवस्थापन समितिले शुरु गरेको अभियान अहिले नवौँ हप्तामा टेकेको छ । नगरको सरसफाइमा सबैलाई सरिक बनाउने उद्देश्यअनुरुप अघि बढ्दै आइएको उक्त समितिका अध्यक्ष चुडामणि पोखरेलले बताए ।
गत साउन अन्तिम साता सबै पक्षको प्रतिनिधित्व गराएर गठन गरिएको उक्त समितिले नगरमा दैनिक सरसफाइ, अनुगमन र संयोजन गर्दै आएको छ ।
प्रतिक्रिया