हाइप्राेफाइल जुवाडेलाई दुई अर्ब ऋण दिने बैंक कुन हाे ?

६ बर्ष अगाडि

आइतबार जुवाखालबाट पक्राउ परेको जुवाडेलाई नेपाल इन्भेष्टमेण्ट बैंकले २ अर्बभन्दा धेरै ऋण दिएको खुलेको छ ।

जुवाखालबाट २ करोड ७० लाख सहित पक्राउ परेका बलराम सापकोटा 'बले' र पवित्रकुमार कार्कीलाई इन्भेष्टमेण्ट बैंकले २ अर्ब बढी ऋण दिएको खुलेको हो । 

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले ‘हाईप्रोफाईल’ जुवाडेद्वयलाई कर्जा दिएको प्रहरी स्रोतले बताएकाे छ । 

सापकोटा र कार्कीले मोरङ्गको धुलावारीमा होटल मेची क्राउन बनाउँदै छन् । ७ बिगाह क्षेत्रफलमा फैलिएको उक्त होटलका लागि बैंकले ऋण दिएको उनीहरुले खुलाएका छन् ।

आइतबार काठमाडौँको महाराजगञ्जस्थित साम्बला होटल पछाडिको एक निजी घरमा जुवा खालमा प्रहरीको छापा मार्दा २५ जना ‘हाइप्रोफाइल’जुवाडेहरु पक्राउ परेका थिए । 

सापकोटाले जुवाखेल्न जानुअघि इन्द्रेणी फुडल्याण्डमा बैठक बसेर डेढ करोड रुपैयाँ झोलामा राखेर हिँडेको कुरा समेत खुलेको छ ।  

काे हुन बले

जुवाडेहरुबीच ‘क्यासिनो किङ’का रुपमा चिनिने बले काभ्रेको रोशी गाउँपालिका, बाल्टिङ स्थायी बासिन्दा हुन् । 

केही समय पहिलासम्म अन्नपूर्ण होटलमा भाँडा माझ्ने काम गरेका उनी वेटर हुँदै सोही होटलस्थित अन्ना क्यासिनोमा बाउन्सरको रुपमा काम गर्थे ।

‘बले’ पछिल्ला दिनमा आफैँ जुवा खेलाउने काममा संलग्न हुन थाले ।

त्यही क्रममा उनले जुवामा लगानी गर्ने तथा मोटो ब्याज असुल्ने गर्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । जुवाडेहरुका लागि उनले ‘मिटर ब्याज’मा लगानी गर्ने गरेको बताइन्छ ।

काभ्रेमा नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षका लागि उम्मेदवारी दिएका उनी कृष्णगोपाल भैलसँग पराजित भएका थिए ।

 उनी कांग्रेसका सभापति शेरबहादुर देउवासँगसमेत निकट सम्बन्ध राख्न सफल भएका थिए । पछिल्लो समय नेपाली राजनीतिमा नेकपाको प्रभाव बढेपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ भन्दै पार्टीका अन्य नेताहरुसँग समेत निकट सम्बन्ध राख्न सफल भएका थिए । जुवा धन्दा फस्टाउँदै गएपछि उनी रातारात करोडपति बनेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

प्रहरी र ठुला राजनीतिक दलका नेताको नाम भजाउँदै फाइदा उठाउने बलेले काभ्रे नै घर भएका कारण सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको समेत नाम भजाउने गरेका छन् । उनले मन्त्री बाँस्कोटाले ‘आफूले जे भन्यो त्यही मान्छन्’ भन्दै अरुलाई धाक लगाउने गरेका छन् । 

पवित्र काे हुन् ?

‘पाँच तारे’ होटल ‘मेची क्राउन’ मा बलेकाे पार्टनर बनेका कार्की  हेलिकोप्टर व्यापारी हुन् ।

एयर डाइनेस्टीका प्रबन्ध निर्देशक रहेका उनी बलेलाई आर्थिक सहयोग गर्ने र हरेक काममा ब्याकअप दिने व्यक्तिका रुपमा चिनिन्छन् ।

ठूला नेता र व्यापारीलाई समेत रिझाउन खप्पिस बले गुण्डागर्दीमार्फत नै क्यासिनो क्षेत्रमा साम्राज्य खडा गर्ने कसरतमा रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । 

यसरी जुवाका लागि करोडौं खर्च गर्नेेहरु व्यक्तिहरुको सम्पत्ती छानविन गर्नुपर्ने सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले भने कानमा तेल हालेर बसेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया