चितवनसम्म पनि पाइपलाइनबाट डिजल, पेट्राेल

६ बर्ष अगाडि

अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइन अब चितवन बिस्तार हुने भएको छ । 

नेपाल आयल निगमले भारततको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म निर्माण भएको पाइलपाइनलाई चितवनको लोथरसम्म बिस्तार गर्ने कार्यको शुरुवात गरेको हो । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडेर पाइपलाइनको शिलान्यास गरे । 

अमलेखगञ्जबाट चितवनको लोथरसम्म करीब ६२ किलोमिटर पाइपलाइन विस्तार हुने नियमले जनाएको छ ।     
    
देशका विभिन्न भागमा पाइपमार्फत इन्धन आपूर्ति गर्ने योजनाअनुसार पाइपलाइन विस्तारको कार्य थालनी गरिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादवले बताए । 

उनले देशभर पाइपमार्फत इन्धन आपूर्ति गर्ने योजनाअनुसार पाइपलाइन विस्तारकार्य भएको, जसमा पेट्रोलियम पदार्थ मात्र नभई खाना पकाउने ग्यास समेत पाइपमार्फत ल्याउने कामको शुरुआत भएको जानकारी दिए । 

अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन विस्तार गर्न अनुमानित लागत रु पाँच अर्ब ६७ करोड लाग्ने र पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि रु चार अर्ब १९ करोड लाग्ने नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । 

उनले अमलेखगञ्जमा भण्डारणका लागि पर्याप्त जग्गा नभएको कारण चितवनसम्म पाइपलाइन विस्तार गर्न लागिएको बताए । 

चितवनमा इन्धन तथा खाना पकाउने ग्यासको भण्डारण गरिए मुलुकको अन्य भागमा सहजै आपूर्ति गर्न सकिने निर्देशक भट्टराईको भनाइ छ ।      

दोस्रो चरणको पाइपलाइन विस्तारसँगै चितवनको लोथरमा एक लाख किलोलिटर भण्डारण गर्नका लागि ट्याङ्की निर्माणको कामसमेत हुने आयल निगमले जनाएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया