नेपालको दोस्रो मुख्य चाड दीपावली,नेपाल संवत् ११४० तथा छठपर्वको शुभअवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमका वक्ताले नेपालका सबै धर्म,संस्कृति तथा संस्कार नेपालको गौरव मात्र नभई विश्वमा नेपालको पहिचान प्रदर्शित गरिरहेको बताएका छन् ।
काठमाडौँको गोँगबुस्थित नेपाल गृहस्थ धर्म सेवा सदनले आयोजना गरेको सो कार्यक्रममा त्यस क्षेत्रका विभिन्न जातजातिको उपस्थिति थियो । राप्रपाका नेता राजाराम श्रेष्ठले प्राचीनकालदेखि नै सबै धर्मावलम्बी मिलीजुली बसेको नेपालमा हाल केही समययता हिन्दू धर्ममाथि प्रहार हुन थालेकामा चिन्ता व्यक्त गरेका छन् ।
उनले दीपावली,नेपाल संवत् तथा छठपर्वजस्ता नेपालका मौलिक पर्व तथा चाडले नेपालको गौरव बढाइरहेको उल्लेख गरे।सेवा सदनका अध्यक्ष एवं आचार्य गुरु तुलसीराम पोखरेलले मानिस–मानिसबीच सद्भावपूर्वक बाँच्न जाने मात्र समाजमा शान्ति कायम हुने बताए ।
उनले शुभ दीपावली,नेपाल संवत् ११४० नहुदाँ तथा छठपर्वका अवसरमा सबैमा शुभकामना पनि व्यक्त गरे। गोँगबु आवास सुधार समितिका अध्यक्ष महेश्वरकुमार श्रेष्ठ,गोँगबु दिदीबहिनी समूहका अध्यक्ष विन्दु सेढाईँ,मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले पनि समाजमा सद्भावको आवश्यकतामाथि प्रकाश पारे।
प्रतिक्रिया