मुख्यमन्त्रीद्वारा सरदार वंशु गुरुङको शालिक अनावरण

६ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरमा निर्माण गरिएको सरदार वंशु गुरुङको शालिकको आज अनावरण गरेका छन् । 

शिकारी शरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानले निर्माण गरेको शालिकको मुख्यमन्त्री गुरुङले अनावरण गरे ।

विश्वविजेता अङ्ग्रेजलाई एशियामा पहिलोपल्ट हराउने सेना नायक सरदार वंशु गुरुङको स्मृतिमा शालिक निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष लालजङ गुरुङले जानकारी दिए । अर्धकदको शालिक निर्माणका लागि करीब रु दुई लाख ५० हजार खर्च भएको छ । “सरदार वंशु गुरुङ हाम्रो पुर्खा हो”, प्रतिष्ठानका अध्यक्ष गुरुङले भने, “उनको स्मृतिमा शालिक निर्माण गरेका हौँ ।”

शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सरदार वंशु गुरुङले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको चर्चा गरे । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलगायतले सरदार वंशु गुरुङको योगदानको चर्चा गरेका थिए ।

विश्वविजेता अङ्ग्रेजलाई एशियामा पहिलोपटक हराउने सेना नायक सरदार वंशु गुरुङले विसं १८२४ कात्तिक २४ गते सिन्धुलीको पौवागढीमा भएको युद्धमा अङ्ग्रेज फौजका कप्तान किनलोकको नेतृत्वको फौजलाई हराएर देशको अस्तित्व जोगाएका थिए । सरदार वंशु गुरुङ नेपाल एकीकरण अभियानमा ठूलो धक्का लगाउने अङ्ग्रेजको सपना चकनाचुर पार्दै एकीकरण अभियानलाई तीव्रगतिमा अगाडि बढाउने एक वीर योद्धा भएको बताइन्छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया