नेपालमा भारतीय गाडी एकवर्षमा जम्मा २९ दिन बस्न पाउने कानून छ । तर वर्षभरी नै भारतीय नम्बर प्लेटका गाडी तराइका विभिन्न जिल्लामा सञ्चालन हुँदा पनि राज्य बेखबर बनेको छ ।
नेपाली रातो नम्बर प्लेटका गाडीलेसमेत निजी यात्रु ओसारपसार गर्न पाउँदैनन् । तर कानूनविपरीत नेपालमा कुदेका भारतीय गाडीले निर्वाध रुपमा यात्रु बोक्ने र रिजर्भमा हिँड्ने गरेपनि कुनै सरकारी निकायले कारबाही गरेका छैनन् ।
भन्सार सहुलियतको दुरुपयोग गरी भारतीय नम्बर प्लेटका गाडी अवैधरुपमा नेपालमा राखेर रिजर्भमा यात्रु ओसारपसार गर्ने गरेका भैरहवाका ट्याक्सी चालक सोमबहादुर परियारले बताए ।
“नेपाली नम्बर प्लेटेका गाडीमा यात्रु लिएर हिँड्दा भन्सार कर्मचारी, प्रहरीले धेरै दुःख दिन्छन्, तर भारतीय नम्बर प्लेटका गाडी हेर्दै हेर्दैनन् ”, उनले भने ।
गोरखपुर चल्ने गाडीलाई नेपालमा आएर यात्रु ओसार गर्न दिन नहुने परियाको भनाई छ । उनका अनुसार गोरखपुरबाट सुनौली भनेर ल्याउने अनि भन्सार सुविधाको दुरुपयोग गर्दै सिधै बुटवल, तानसेन, पोखरा, मुक्तिनाथ, काठमाडौँसम्म अनाधिकृतरुपमा जाने गरेका छन् ।
भारतबाट नेपाल आउन चाहने गाडी धनीले अस्थायी भन्सार सुविधा प्रतिदिनको रु ५०० तिरेर भन्सारबाट लिन पाउने प्रावधान छ । भन्सारले कार, जीप, भ्यान, बस, मिनिबस, एम्बुलेन्सको रु ५०० लिने गरेको छ । यसैगरी ट्रक, पिकअप, मिनिट्रकको रु एक हजार ७०० र ट्र्याक्टरको रु ४०० भन्सार लाग्ने गर्दछ ।
त्यसरी दैनिक ६००/७००को संख्यामा नेपाल भित्रने भारतीय नम्बरका गाडी भित्रने गरेको तथ्यांक छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा विदेशमा दर्ता भएको सवारी नेपालभित्र चलाउने अनुमति मागेमा अधिकार प्राप्त अधिकारीले तोकिएको दस्तुर लिइ बढीमा एक महीनासम्मको लागि त्यस्तो सवारी चलाउने अनुमति दिन सक्ने व्यवस्था छ । अझै निःशुल्क सुविधाको प्रयोग गर्दै भित्रिएका गाडी बिहान आएर साँझ फर्किनुपर्ने हुन्छ ।
तर हप्तौँसम्म नेपालमै बस्ने ती गाडीले निर्वाध रुपमा नेपाली यात्रु ओसारपसार गर्छन् । सीमावर्ती क्षेत्रमा सञ्चालित होटल, क्यासिनो र मेडिकल कलेजले पनि सञ्चलन भइरहेका छन् ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले सिस्टमले ट्रयाक र क्यास गर्न नसक्दा कुन गाडी कति दिन बस्यो भनेर पुष्टि गर्न मुश्किल भएको बताए । “नेपाल बस्ने गाडीले भन्सारमा भएको सिस्टम असुविधाको फाइदा उठाएको देखिएको छ ”, उनले भने ।
ट्राफिक प्रहरीले जरिवाना मात्रै उठाउने गरेका कारण कारवाहीका लागि पठाउने भने गर्ने नगरेको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले कानूनविपरीत भारतीय गाडी नेपाल आई सञ्चालनमा आएको भए कारवाही गरिने बताए ।
प्रतिक्रिया