आयल निगमले ग्याँस उद्योग चलाउने, दैनिक ५० देखी ६० हजार वटा सिलिन्डर उत्पादन

६ बर्ष अगाडि

खाना पकाउने एलपी ग्याँसमा निजी क्षेत्रको एकाधिकार भैरहेको बेला नेपाल आयल निगमले पनि ग्याँस उद्योग (बोटलिङ प्लान्ट) सञ्चालन गर्ने भएको छ । 

निजी उद्योगीहरुले बेलाबेलामा हड्ताल गरेर ग्यासको कालोबजारी गर्ने गरेको भन्दै निगमले झापाको चारआली र जनकपुरमा प्लाण्ट स्थापना गर्ने प्रकृया अगाडी बढाएको हो । 

प्लाण्ट स्थापना गर्नका लागि टेण्डर प्रकृया शुरु गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।

‘डीपीआर  (विस्तृत परियोजना प्रतिवेदन) का लागि टेण्डर भइसकेको छ,’ उनले भने ‘डीपीआरपछि फाइनान्सियल प्रतिवेदन तयार पारेर त्यसैको आधारमा प्लान्ट निर्माण अघि बढ्नेछ ।’

प्लाण्टमा दैनिक ५० देखी ६० हजार वटा सिलिन्डर भर्न सकिने छ भने भण्डार गृहको ५ हजार टन  क्षमताको हुने छ।  

कार्यकारी निर्देशक पौडेलका अनुसार निगमले निर्माण गर्न लागेको उद्योग अत्याधुनिक प्रविधिमा आधारित हुने छ । 

देशभर ग्याँस भर्ने र भण्डारण गर्ने गरी बोटलिङ प्लान्ट सञ्चालन गर्ने योजना बनाएको निगमले पहिलो चरणमा दुई ठाउँमा उद्योग स्थापना गर्न लागेको हो ।  

चारआली र जनकपुरमा निर्माण  गरेपछि  त्यसको प्रगतिको आधारमा देशका अरु स्थानमा समेत राख्न प्रकृया अघि बढाइने निगमले जनाएको छ । 

नयाँ प्लाण्ट स्थापना गरेपछि निगमले सिलिण्डर भरेर ‘एनओसी’ ब्राण्डमा बेच्ने जनाएको छ ।

नेपालमा अहिले निजी क्षेत्रको मात्रै ५२ र साल्ट ट्रेडिङ कर्पोरेशनले एउटा बोटलिङ प्लान्ट सञ्चालन गरेका छन्। 

जानकारहरुका अनुसार एउटा प्लान्ट स्थापना गर्न १० करोड र भण्डारणसहित बनाउने प्लान्टको मूल्य करिब ५० करोड पर्छ । 

यति महंगोमा प्लाण्ट स्थापना गर्नु आबस्यक नभएको भन्दै निगमकै केही व्यक्तिले बिरोध गरेपनि निगमका कार्यकारी निर्देशक पौडेल भने प्लान्ट स्थापना अनिवार्य रहेको बताए । 

बेला बेला निजी उद्योगले गर्ने कालोबजारी, हड्ताल र जनतालाई दिने सास्तीबाट मुक्तिका लागि पनि निगमको आफ्नो प्लाण्ट अनिवार्य रहेको उनको भनाई छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया