हेटौँडाका विभिन्न होटलको अनुगमन, अखाद्य वस्तु जफत

६ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा खटिएको संयुक्त अनुगमन टोलीले त्रिभुवन राजपथ चौकीटोल, हेटौँडा–नारायणगढ सडकखण्डको थानाभर्याङ र स्थानीय बसपार्कमा रहेको विभिन्न होटल र मिठाइ पसल गरी २० वटा पसलमा आज स्थलगत अनुगमन गरी अखाद्य वस्तु मिसावट र अन्य खानेकुरा जफत गरेको छ ।     
     
अनुगमन टोलीले कान्तिराजपथमा रहेको अनमोल स्वीटस् मिठाइ पसलमा अखाद्य वस्तु मिसावट मिठाइहरु,स्थानीय बसपार्कमा रहेको खाजाघरमा राखिएको गुणस्तरहीन एवं बासी चाउमिन,चना,मासु फ्राई,अण्डा,आलुचप र राजमार्गमा रहेको होटलमा भेटिएको बासी खानालगायत पेय पदार्थ पनि जफत गरी नष्ट गरिएको जिप्रकाका प्रतिनिधि सहदेव आचार्यले बताएका  छन् ।     
     
अनुगमनका क्रममा राजमार्गमा रहेको विभिन्न होटलमा यात्रुले देखिने गरी खानाको मूल्यसूची राखिनुपर्ने, भान्छाघरलाई स्वच्छ बनाई यात्रुलाई स्वच्छ खाना उपलब्ध गराउनुपर्ने र होटलको गुणस्तरलाई कायम राख्न थप सरसफाइ गरी खाद्य सामग्री सात दिनभित्र भण्डारण गर्न निर्देशन दिएको र अर्कोपटक अनुगमन गरिँदा सो सुझाव दिएअनुसारको फेला नपरेमा कानूनी कारवाही अगाडि बढाइने क्षेत्रीय गुण नियन्त्रण प्राविधिक कार्यालयका प्रमुख सोमकान्त रिजालले बताएका छन् ।     
     
शुक्रबार स्थानीय हेटौँडा बजार, मनहरी, लोथर बजारमा आकस्मिकरुपमा अनुगमन गर्न विभिन्न टोली खटाइएको जिप्रका मकवानपुरले जनाएको छ ।     
 
 

६ बर्ष अगाडि

प्रतिक्रिया