अघि बढ्दै जनताको जलविद्युत कार्यक्रमः माथिल्लो अरुणमा सर्वसाधारणलाई ४९ प्रतिशत बराबरको सेयर

६ बर्ष अगाडि

काठमाडौ – बुधबार मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइ मनत्रालय मातहतको विद्युत् विकास विभागले सर्वेक्षणको अनुमति दिएको माथिल्लो अरुण जलविद्युत आयोजनाले ४९ प्रतिशत शेयर आम जनतामा सेयर बिक्री गर्ने भएको छ ।

कूल १०६१ मेगावाट क्षमताको  माथिल्लो अरुण अर्धजलाशययुक्त आयोजनालाई सरकारले नेपालको पानी जनताको लगानी कार्यक्रममा समावेश गरेको छ ।

सरकारले कूल २१ आयोजनालाई नेपालको पानी जनताको लगानीमा समावेश गरेको छ । ती आयोजना मध्ये माथिल्लो अरुण पनि एक हो । सो आयोजनाका लागि सर्वसाधारणबाट सेयर उठाउने तयारी छ । प्रतिमेगावाट लागत ११ करोड रुपैयाँ रहेको सो आयोजना थोरै आकर्षक आयोजना मध्यको एक हो ।

जनताको लगानी कार्यक्रममा समावेश भएको सो आयोजनाको स्वपूँजी मध्ये ४९ प्रतिशत लगानी जनताको शेयर मार्फत गरिनेछ । मन्त्रालयले आयोजनाको सर्वेक्षण अनुमतिपत्र दिएसँगै आयोजना निर्माणको बाटो खुलेको हो ।

सो आयोजनामा सर्वसाधारणको पनि सेयर रहने गरी कम्पनी ढाँचामा निर्माण गर्ने तयारी गरिएको छ । सरकारले आयोजना प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गर्न सहमति दिइसकेको छ ।

आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर रहनेछ । कूल ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋण लिने तयारीमा छ । स्वपूँजी मध्ये ४९ प्रतिशत सर्वसाधारण र बाँकी ५१ प्रतिशतमा पनि  नेपाल विद्युत् प्राधिरकणलगायतको लगानी रहनेछ । यस्तै आयोजनाका लागि  विश्व बैक, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी संचय कोष, नागरिक लगानी कोष जस्ता स्वदेशी वित्तीय संस्थाको रकम समेत परिचालन गर्ने योजना छ ।

सो आयोजनाको हाल विस्तृत अध्ययन भइरहेको छ । आयोजनाको कूल लागत १ खर्ब २० अर्ब हाराहारीमा हुने बताइएको छ । आयोजनाको निर्माण २०८३ को पुसभित्र सक्ने लक्ष्य राखिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया