काठमाडौँ । सूर्यविनायक–धुलिखेल सडकखण्डलाई सरकारले द्रुर्तमार्गको रुपमा विकास गर्ने भएको छ ।
राजधानी साघुँरो हुँदै गएको र आवादी समेत बढ्दै गएको तथ्यलाई हेरेर सरकारले सो सडक खण्डलाई डेडिकेडेट सुपर हाइवेको रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।
सोही सडक खण्डको समानान्तर रुपमा मेट्रो रेल समेत चलाउने लक्ष्यका साथ पहिलो चरणमा सुपर हाइवे निर्माण गर्न लागिएको हो ।
सरकारले नागढुंगादेखि धुलीखेलसम्म मेट्रो रेल सञ्चालन गर्ने तयारी समेत गरिरहेको छ । सोही योजनालाई मध्यनजर राख्दै सडक खण्डलाई पनि अन्तर्राष्ट्रिय मापदण्डको हुने गरी ६ लेनमा विकास गर्न लागेको हो ।
सडक स्तरोन्नति तथा विस्तार कार्यको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) समेत अन्तिम चरणमा पुगेको छ । उक्त सडकखण्डको इआइएको काम अगाडि बढीरहेको भक्तपुर नगर उपप्रमुख रजनी जोशीले जानकारी दिइन ।
सडक विस्तार र स्तरोन्नतिका क्रममा ढल निकास र खानेपानीको पाइपलाइन व्यवस्थित गर्ने काम समेत जारी रहेको छ ।
सडक विस्तारबारे सुझाव संकलनसमेत भइरहेको छ । भक्तपुर नगरलाई पैदलमैत्री नगर बनाउने तथा साइकल लेनसहितको पदमार्ग बनाउने योजना अगाडि बढाइको छ ।
सडक विस्तार गर्न सडक मापदण्डको संरचना र पुराना घरको मुआब्जाको समस्या आएको छ ।
सरकारले ऋण सहयोगमा विस्तार गर्न लागेको उक्त सडक १४.९१ किलोमिटर लामो छ । साँगामा १.३ किलोमिटर सुरुङ मार्ग निर्माण हुनेछ ।
सडक तत्काल चार लेनको र साइडमा दुई लेन निर्माण हुने छ ।
साँगामा सुरुङ निर्माणका साथै पुल, कलभर्ट, चौबाटोको सुधार, भिरालो सतहलाई स्थिर राख्न रिटेनिङ पर्खाल, वटुवाका लागि आकाशे पुल तथा केही स्थानमा थप जग्गा अधिग्रहण गर्नुपर्ने सडक विभागको भनाइ छ ।
विस्तारका क्रममा वायु तथा ध्वनि प्रदूषण कम गर्ने आधुनिक उपकरणको प्रयोग गर्ने, नियमित पानी छर्किने, सुरुङ निर्माणस्थलबाट निस्कने धमिलो पानी प्रशोधन गरेरमात्र निष्काशन गरिने र खोलाको पानीको गुणस्तर नियमितरूपले मापन गर्ने योजना समेत अगाडि सारिएको छ ।
यस्तै भूमिगत पानीको सतह र प्राकृतिक पानीको मूल घट्न सक्ने भएकाले सुरुङ निर्माण गर्नुभन्दा पहिले ग्राउण्ड ट्रिटमेण्ट गर्ने समेत लक्ष्य राखिएको छ ।
त्यस्तै सुरुङ उत्खननपछि कङ्क्रिट लाइनिङ तथा सिलिङ गरिने, कृषियोग्य माटो संकलन गरी पूर्ण प्रयोगमा ल्याउने प्रस्ताव गरिएको छ ।
यसैगरी सूर्यमोड सामुदायिक वनको सडक छेउको करीब १० रोपनी क्षेत्र आयोजनाले प्रयोग गर्ने, सूर्यमोड सामुदायिक वनका १६३ वटा रुख सो क्षेत्रबाट काट्नुपर्ने र सडक क्षेत्रका ७१९ रुख कटान गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया