राप्तीबाट मात्रै उठाए विप्लवले १ करोडभन्दा बढि चन्दा

६ बर्ष अगाडि

साविकको राप्ती अञ्चलका पाँच जिल्लाहरुबाट मात्रै प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले एक करोड बढी चन्दा उठाएको प्रमाण प्रहरीले फेला पारेको छ।

असोज ३० गते बिहान १ बजे राजपुर गाउँपालिका अन्तरगतको वडा नं ४ स्थित मगराईना गाउँवाट विप्लवका सहोदर दाजु चन्द्रबहादुर चन्द (वीरजंग) सहित २१ जना नेता कार्यकर्ता पक्राउ गर्दा बरामद भएको दस्ताबेजबाट उक्त कुरा खुलेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी विनोद विक्रम शाहले एक करोड भन्दा बढी रकम चन्दा संकलन गरेर खर्च गरेको दस्तावेज बरामद भएको जानकारी दिए।

‘बरामद सामाग्री हेर्दा एक करोड भन्दा बढी रकम चन्दाको रुपमा उठाएर खर्च गरेको पुष्टि हुन्छ,’ प्रवक्ता शाहले भने।

यो बीचमा विप्लवले को–को बाट कति–कति चन्दा उठाए र अब को–कोसँग चन्दा उठाउने तयारी थियो भन्ने कुराको प्रमाण समेत फेला परेको प्रहरीको भनाइ छ।

‘प्रहरीले उनीहरुका भावी योजनाका महत्वपूर्ण दस्ताबेजहरु पनि बरामद गर्न सफल भएको छ,’ प्रवक्ता शाहले भने ‘उद्योगी व्यापारीले मात्रै हैन, जनप्रतिनिधिले समेत विप्लवलाई चन्दा सहयोग गरेको देखिन आएको छ।’

जिल्ला प्रहरी प्रवक्ता शाहका अनुसार विप्लवले राप्तीका ५ जिल्ला मध्ये सबैभन्दा बढी चन्दा दाङबाटै उठाएको देखिएको छ।

त्यतिधेरै चन्दा उठाएर खर्च गरेको कागजात देखिएपछि त्यो रकम उनीहरुले हतियार खरिदमा समेत प्रयोग गरेको हुन सक्ने प्रहरीको शंका छ ।

‘विप्लवको उदेश्य भनेको मंसिर १४ को उपनिर्वाचन हुन नदिने तथा विथोल्ने भन्ने ढंगको नै देखिएको छ,’ प्रहरी प्रबक्ता शाहले भने ‘प्रहरीले ठूलो सुराक फेला पार्न सफल भएको छ । यसलाई कुनैपनि क्षति बिना प्राप्त एउटा ठूलो सफलता हासिल भएको मान्नु पर्छ।’

६ बर्ष अगाडि

प्रतिक्रिया